[1] त्यसकारण सबै घृणा अनि सबै छल, कपट, डाहा र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख।
[2] परमेश्वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ। त्यसैकारणले नयाँ जन्मेका बालकझैं, शुद्ध आत्मिकी दूधको तृष्णा गर; यसरी तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जाओ।
[4] जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्वरले छान्नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ;
[5] तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैं आत्मिकी घर बन्दैजाओ।
[6] किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, एक चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्वास गर्छ त्यो कहिल्यै शर्ममा पर्नेछैन।”
[7] यसर्थ तिमी विश्वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गो कुनाको मुख्य बन्यो।”
[8] र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ र यस्तो चट्टान जसले तिनीहरूलाई खसाल्छ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उलङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए।
[9] तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पूजाहारीगिरी, एक पवित्र जाति, परमेश्वरको विशेष सम्पत्ति र तिमीहरूले उहाँलाई अर्थात् तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर।
[10] एक समय तिमीहरू परमेश्वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।
[11] हे प्रिय मित्रहरूहो, संसारमा विदेशी र प्रवासीको रूपमा, तिमीहरूका पापमय इच्छादेखि, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ, त्यसदेखि अलग बस भनी म निवेदन गर्दछु।
[12] गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्वरको महिमा गरून्।
[13] प्रभुको निम्ति तिमीहरू आफूलाई सबै मानवीय स्थापित अख्तियारको अधीनमा राख; चाहे सर्वोच्च अधिकारको रूपमा राजा हुन्,
[14] अथवा राज्यपालहरू, जसलाई राजाले खराब काम गर्नेहरूलाई दण्ड दिन र ठीक काम गर्नेहरूलाई इज्जत दिन चुनेका हुन्छन्।
[15] किनकि परमेश्वरको इच्छा यो छ, कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानताका कुरालाई चूप गराउनुपर्दछ।
[16] तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्टता छोप्ने आवरणको रूपमा प्रयोग नगर।
[17] सबैलाई उचित आदर देखाओ। विश्वासीहरूको समूहलाई प्रेम गर; परमेश्वरसँग डराओ, राजालाई आदर गर।
[18] हे सेवकहरूहो, पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनतामा बस, असल र समझदार मालिकहरूको मात्र होइन, तर कठोर मालिकहरूको पनि अधीनतामा बस।
[19] परमेश्वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय हुन्छ;
[20] तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने, यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्ट पायौ र भोग्छौ भने, यो परमेश्वरको अघि प्रशंसनीय छ।
[21] यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्टले तिमीहरूको निम्ति कष्ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, अनि तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्नेछ।
[22] “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
[23] तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा, न्यायपूर्ण न्याय परमेश्वरकहाँ आफूलाई सुम्पिनुभयो।
[24] यसरी हामी पापको निम्ति मरौं र धार्मिकताको निम्ति जिऔं भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।”
[25] किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,” तर अब तिमीहरू तिमीहरूका प्राणहरूका गोठालो र संरक्षक ख्रीष्टकहाँ फर्केका छौ।