[1] जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौं, जसलाई हामीले हाम्रै आँखाले देखेका छौं, जसलाई हामीले हेरेका छौं र हाम्रै हातले छोएका छौं; अनि यही जीवनको वचनको विषयमा हामी घोषणा गर्दछौं।
[2] अनि त्यो जीवन प्रकट हुनुभयो; हामीले उहाँलाई देखेका छौं, र उहाँकै साक्षी दिन्छौं, अनि तिमीहरूलाई हामी अनन्त जीवन घोषणा गर्दछौं, जो पितासँग थियो र हामीकहाँ प्रकट हुनुभएको छ।
[3] हामीले जे देखेका र सुनेका छौं, त्यही हामी तिमीहरूलाई घोषणा गर्दछौं, यस हेतुले कि तिमीहरूको पनि हामीसित सङ्गति होस्। अनि हाम्रो सङ्गति पितासँग र उहाँका पुत्र येशू ख्रीष्टसँग छ।
[4] त्यसैले हामी यो कुरा हाम्रो आनन्दपूर्ण होस् भनेर लेख्दछौं।
[5] यही सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं; त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कति पनि अँध्यारो छँदैछैन।
[6] यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौं, र पनि अन्धकारमा नै हिँड्छौं भने ता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं।
[7] तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौं भने ता, एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
[8] यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौं भने हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्यता हुँदैन।
[9] यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ।
[10] यदि हामीले पाप गरेका छैनौं भनी हामी दाबी गर्छौं भने हामीले उहाँलाई झूटा तुल्याउँछौं र हाम्रो जीवनमा उहाँको वचन रहँदैन।