[1] प्रिय मित्रहरूहो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्।
[2] परमेश्वरको आत्मालाई तिमीहरू यसरी चिन्न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्वरबाटको हो।
[3] तर हरेक आत्मा जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्वरबाटको होइन। अनि यही नै ख्रीष्ट विरोधीको आत्मा हो, जो आउँछ भन्ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ।
[4] हे प्यारा साना नानीहरूहो, तिमीहरू परमेश्वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
[5] तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्टिकोणद्वारा बोल्छन्, अनि संसारले तिनीहरूका कुरा सुन्छ।
[6] हामी परमेश्वरका हौं, र जसले परमेश्वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौं।
[7] प्रिय मित्रहरूहो, हामी एक-अर्कालाई प्रेम गरौं, किनकि प्रेम परमेश्वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो; र त्यसले परमेश्वरलाई जान्दछ।
[8] जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिनेको हुँदैन; किनकि परमेश्वर प्रेम हुनुहुन्छ।
[9] परमेश्वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो। पुत्रद्वारा हामी जिउन सकौं भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो।
[10] प्रेम यही नै हो, हामीले परमेश्वरलाई प्रेम गरेनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्चितको बलि बनाएर पठाउनुभयो।
[11] प्रिय मित्रहरूहो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एउटाले अर्कालाई प्रेम गर्नुपर्छ।
[12] परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एउटाले अर्कालाई प्रेम गर्यौं भने, परमेश्वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
[13] हामी उहाँमा जिउँछौं, अनि उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौं; किनकि उहाँले हामीलाई आफ्ना आत्मा दिनुभएको छ।
[14] अनि हामीले देखेका छौं र साक्षी दिन्छौं, पिताले संसारका मुक्तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ।
[15] कुनै पनि व्यक्तिले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने, परमेश्वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्वरमा।
[16] अनि यसरी नै हामीप्रति परमेश्वरको प्रेम हामी जान्दछौं र त्यसैमा भर पर्दछौं। परमेश्वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्वरमा जिउँछ, र परमेश्वर त्यसमा जिउनुहुन्छ।
[17] यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौं।
[18] प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन।
[19] हामी उहाँलाई प्रेम गर्छौं, किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
[20] यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने, त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन।
[21] अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।