Skip to content
Opens in a new window
Listen to this chapter • 3:42

[1] हे प्रिय मित्रहरूहो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले ती दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु।

[2] म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्‍ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्‍तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु।

[3] सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्‍ट विचारहरूलाई पछ्याउनेछन्।

[4] अनि तिनीहरूले भन्‍नेछन्, “उनले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्‍टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।”

[5] परमेश्‍वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, अनि पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अन्जान रहन चाहन्छन्।

[6] अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्।

[7] त्यही शब्दद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्‍वरहीन मानिसहरूको नाश हुनका लागि जम्मा पारेर आगोको निम्ति जोगाइ राखिएका छन्।

[8] मेरा प्रिय मित्रहरूहो, यो एउटा कुरा नबिर्स: परमेश्‍वरको निम्ति एक दिन हजार वर्षझैं छ, र हजार वर्ष एक दिनझैं।

[9] केही मानिसले ढिलापनको विषयमा सोचेझैं, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्‍न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्‍न; तर प्रत्येकले पश्‍चात्ताप गरून् भन्‍ने चाहनुहुन्छ।

[10] तर प्रभुको दिन चोरझैं आउनेछ। गर्जनसहित स्वर्ग लुप्‍त हुनेछ; तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।

[11] यसरी सबै कुराहरू नाश भएर जाने हुनाले, तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्‍वरीय जीवन बिताउनुपर्छ।

[12] जब तिमीहरूले परमेश्‍वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्।

[13] तर हामी उहाँको प्रतिज्ञाअनुसार एउटा नयाँ स्वर्ग र एउटा नयाँ पृथ्वी पर्खंदैछौं, जो धार्मिकताको घर हो।

[14] त्यसकारण प्रिय मित्रहरूहो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर।

[15] अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्‍ति पाउने मौका हो भन्‍ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्‍वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्।

[16] उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैं आफ्नै विनाशको निम्ति यसलाई बङ्ग्याउँछन्।

[17] त्यसकारण प्रिय मित्रहरूहो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले, होसियार होओ; र नियम विहीनका मानिसहरूको गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्।

[18] तर हाम्रा प्रभु र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई अहिले अनि सदा-सर्वदा महिमा होस्! आमेन!

2 पत्रुस — Chapters