Skip to content
Opens in a new window
Listen to this chapter • 5:53

[1] मेरा प्यारा साना नानीहरूहो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍दछु। तर यदि कसैले पाप गर्‍यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक अधिवक्‍ता हुनुहुन्छ अर्थात् धार्मिक जन, येशू ख्रीष्‍ट;

[2] अनि उहाँ हाम्रा पापहरूको निम्ति प्रायश्‍चितको बलि हुनुहुन्छ, र केवल हाम्रा पापका निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि।

[3] यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौं भने त्यसैबाट हामीले उहाँलाई चिनेका छौं भनी थाहा पाउँछौं।

[4] कसैले “म उहाँलाई चिन्दछु” भन्छ, तर त्यसले उहाँको आज्ञा पालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्य छैन।

[5] तर यदि कसैले उहाँको वचन पालन गर्छ भने परमेश्‍वरको प्रेम त्यसमा साँचो रूपले पूर्ण भएको हुन्छ। यसैबाट हामी उहाँमा छौं भनी हामीलाई थाहा हुन्छ:

[6] उहाँमा जिउँछु भनी दाबी गर्ने व्यक्‍ति येशूजस्तै जिउनुपर्छ।

[7] हे प्यारा मित्रहरूहो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो।

[8] तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बित्दैछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेको छ।

[9] कसैले आफू ज्योतिमा छु भनी दाबी गर्छ, तर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ भने, त्यो अझै पनि अन्धकारमै छ।

[10] जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छ, त्यो ज्योतिमा जिउँछ, र त्यसमा तिनीहरूलाई ठेस पुर्‍याउने कुनै कारण रहँदैन।

[11] तर जसले आफ्नो दाजुभाइ वा दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ र अन्धकारमै जिउँछ; त्यो कहाँ जाँदैछ त्यसलाई थाहा हुँदैन, किनकि अन्धकारले त्यसलाई दृष्‍टिविहीन तुल्याएको हुन्छ।

[12] हे प्यारा साना नानीहरूहो, म तिमीहरूलाई लेख्‍दछु; किनकि उहाँको नाउँको निम्ति तिमीहरूका पाप क्षमा भएका छन्।

[13] हे पिताहरूहो, म तिमीहरूलाई लेख्‍दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरूहो, म तिमीहरूलाई लेख्‍दछु; किनकि तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।

[14] हे प्यारा बालकहरूहो, म तिमीहरूलाई लेखेको छु; किनकि तिमीहरूले पितालाई चिनेका छौ। हे पिताहरूहो, म तिमीहरूलाई लेखेको छु, किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरूहो, म तिमीहरूलाई लेखेको छु; किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।

[15] संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्छ भने, पिताको प्रेम त्यसमा हुँदैन।

[16] किनकि संसारमा भएका सबै थोक; शरीरको अभिलाषा, उसको आँखाहरूको अभिलाषा र ऊसँग भएका जीवनको शेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो।

[17] अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिस सधैंको निम्ति जीवित रहिरहन्छ।

[18] हे प्यारा बालकहरूहो, यो नै आखिरी घडी हो; र ख्रीष्‍ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैं, अहिले नै पनि धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौं।

[19] तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् ता तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्‍ने कुरा प्रकट गर्दछ।

[20] तर तिमीहरूको अभिषेक पवित्रजनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।

[21] तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको छैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ।

[22] झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ।

[23] पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ।

[24] होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ।

[25] अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन।

[26] तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु।

[27] तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले, त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो।

[28] अब हे प्यारा साना नानीहरूहो, उहाँमा रहिरहो, जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्‍क भएर उहाँको आगमनमा उहाँको अघि हामीले शर्माउन नपरोस्।

[29] ख्रीष्‍ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने, तिमीहरूले यो पनि जान्‍नेछौ, कि ठीक काम गर्ने हरेक मानिस परमेश्‍वरबाट जन्मिएको हो।

1 यूहन्‍ना — Chapters