Skip to content
Opens in a new window
Listen to this chapter • 4:37

[1] हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्तान कहलिएका छौं; अनि हामी त्यही हौं पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।

[2] प्रिय मित्रहरूहो, अहिले हामी परमेश्‍वरका सन्तान हौं, र हामी के हुनेछौं, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौं, ख्रीष्‍ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौं; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौं।

[3] यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई शुद्ध राख्छन्, जस्तो उहाँ शुद्ध हुनुहुन्छ।

[4] पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो।

[5] तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो। अनि उहाँमा कुनै पाप छैन।

[6] उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई नदेखेको छ, न ता चिनेको छ।

[7] हे प्यारा साना नानीहरूहो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठीक काम गर्छ त्यो धार्मिक हो, जस्तो उहाँ धार्मिक हुनुहुन्छ।

[8] जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्‍वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्‍ट पार्नलाई हो।

[9] परमेश्‍वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्‍वरको बीज त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्‍वरबाट जन्मिएको हो।

[10] परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौं: जे ठीक छ त्यो काम नगर्ने कुनै पनि व्यक्‍ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्‍ति परमेश्‍वरको सन्तान होइन।

[11] तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।

[12] कयिनजस्तो नहोओ, जो दुष्‍टको थियो, र आफ्नै भाइलाई त्यसले हत्या गर्‍यो। त्यसले आफ्नो भाइलाई किन मार्‍यो? किनकि त्यसका आफ्ना कामहरू दुष्‍ट थिए, तर त्यसको भाइका चाहिँ कामहरू धार्मिक थिए।

[13] त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान।

[14] हामी जान्दछौं, हामी ता मृत्युबाट जीवनमा सरिसकेका छौं; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।

[15] हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; र कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ।

[16] प्रेम के हो भन्‍ने कुरा हामी यसैबाट थाहा पाउँछौं; येशू ख्रीष्‍टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। अनि हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।

[17] यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र?

[18] प्यारा साना नानीहरूहो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौं।

[19] त्यसकारण यसैबाट नै हामी सत्यका हौं भनी जान्दछौं, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौं।

[20] जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ।

[21] प्रिय मित्रहरूहो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्छ,

[22] अनि हामीले जे माग्दछौं, सो उहाँबाट पाउँछौं; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र जुन कुराले उहाँलाई प्रसन्‍न तुल्याउँछ, त्यही गर्दछौं।

[23] अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ।

[24] जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं।

1 यूहन्‍ना — Chapters