Skip to content
Opens in a new window
Listen to this chapter • 2:45

[1] मालिक हो, आफ्ना नोकरहरूलाई जे सही र उचित छ त्‍यही देओ । तिमीहरू यो जान्‍दछौ, कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्‍छ ।

[2] दृढतापूर्वक निरन्‍तर प्रार्थनामा लागिरहो, र धन्‍यवादसाथ प्रार्थनामा जागा रहो ।

[3] हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्‍यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु ।

[4] जसरी मैले बोल्नुपर्ने हो, त्‍यसरी नै मैले यसलाई स्पष्‍टपार्न सकूँ भनेर प्रार्थना गर ।

[5] बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर ।

[6] तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्‍तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्‍न सक ।

[7] तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिँ मेरा प्रिय भाइ, विश्‍वासयोग्य दास र प्रभुमा सङ्‌गी सेवक हुन् ।

[8] यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून् ।

[9] तिमीहरूमध्‍येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।

[10] मेरा सङ्‌गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर,”

[11] र युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन् । परमेश्‍वरको राज्‍यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्‍त्वनाका पात्र भएका छन् ।

[12] इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्‍येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्‍छन्, ताकि परमेश्‍वरको इच्‍छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक ।

[13] यो कुरामा म तिनको साक्षी भएको छु, कि उनी तिमीहरूका लागि र लाउडिकियामा भएकाहरू अनि हिरापोलिसमा भएकाहरूका खातिर कडा परिश्रम गर्छन् ।

[14] प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

[15] लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर ।

[16] जब यो पत्र तिमीहरूका बीचमा पढिनेछ, त्‍यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू ।

[17] अर्खिप्‍पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्य र यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्‍यान देऊ ।”

[18] यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूमा अनुग्रह होस् ।

कलस्सीहरूलाई पावलको पत्र — Chapters