Skip to content
Opens in a new window
Listen to this chapter • 3:13

[1] किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्‌घर्षबारे तिमीहरूले जानेको म चाहन्‍छु ।

[2] प्रेम र समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा र परमेश्‍वरको गुप्‍त सत्‍यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्दछु ।

[3] ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।

[4] म यो भन्‍छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् ।

[5] र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्‍दित हुन्‍छु ।

[6] तिमीहरूले येशू ख्रीष्‍टलाई जुन प्रकारले प्राप्‍त गर्‍यौ, सोही प्रकारले उहाँमा हिँड ।

[7] तिमीहरूलाई सिकाइएको जस्‍तै गरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्‍यवाद देओ ।

[8] तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।

[9] किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ ।

[10] र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ । उहाँ नै सबै शक्‍ति र अधिकारको शिर हुनुहुन्‍छ ।

[11] उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो ।

[12] तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ ।

[13] र जब तिमीहरू आफ्ना पाप र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै पापहरूलाई क्षमा गर्नुभयो ।

[14] उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई र त्‍यसका विनियमहरूलाई हटाइदिनुभयो । उहाँले यी सबैलाई हटाउनुभयो र क्रुसमा टाँगिदिनुभयो ।

[15] उहाँले शक्‍तिहरू र अधिकारवालाहरूलाई हटाउनुभयो । उहाँले तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो र उहाँको क्रुसको माध्‍यमद्वारा तिनीहरूलाई विजय समारोहमा डोर्‍याउनुभयो ।

[16] यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।

[17] यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्‍छ ।

[18] नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्‍दछ ।

[19] उसले शिरलाई पक्री राख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्‍थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू फैलाइन्‍छ र तिनीहरूलाई एकसाथ राखिन्‍छ; र शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्दछ ।

[20] यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ ?

[21] “नसमात, नचाख, नछोऊ ।”

[22] मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्‍छन् ।

[23] यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।

कलस्सीहरूलाई पावलको पत्र — Chapters