Skip to content
Opens in a new window
Listen to this chapter • 3:15

[1] यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्‍नुभएको छ ।

[2] माथिका कुराहरूमा विचार गर, तर पृथ्वीका कुरामा ध्‍यान नलगाओ ।

[3] किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ ।

[4] जब ख्रीष्‍ट प्रकट हुनुहुनेछ जो तिमीहरूका जीवन हुनुहुन्‍छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।

[5] त्‍यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्‍छा र लोभको अन्‍त्‍य गर, जुन मूर्तिपूजा हो ।

[6] यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँछ ।

[7] तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।

[8] तर अब यी कुराहरू तिमीहरूले त्‍याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्‍छा, डाह र निन्‍दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।

[9] एक अर्कालाई नढाँट; कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्‍यसको व्यवहारसमेत त्‍यागेका छौ ।

[10] तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्‍यसलाई सृष्‍टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ ।

[11] यस ज्ञानमा, कोही ग्रिक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्‍का हुँदैन, तर ख्रीष्‍ट नै सबै कुरा हुनुहुन्‍छ र सबै कुरामा हुनुहुन्‍छ ।

[12] त्‍यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।

[13] एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।

[14] यी सबै कुराहरू भन्‍दा माथि प्रेम धारण गर, जुनचाहिँ पूर्णताको बन्धन हो ।

[15] तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्‍तिले राज्‍य गरोस् । यही शान्‍तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्‍यवादी होओ ।

[16] ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्‍यवादका गीतहरू गाओ ।

[17] अनि जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्‍वर पितालाई उहाँद्वारा धन्‍यवाद देओ ।

[18] पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।

[19] पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र उनीहरूप्रति कठोर नहोओ ।

[20] छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।

[21] बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, कारण त्‍यसले गर्दा उनीहरू निराश बन्‍नेछन् ।

[22] दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरू जस्‍तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । परमप्रभुको भय मान ।

[23] तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरे जस्‍तो गरी होइन, तर प्रभुको निम्ति आत्मादेखि नै गर ।

[24] तिमीहरू जान्‍दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्‍छ ।

[25] किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्‍यसमा कुनै पक्षपात हुनेछैन ।

कलस्सीहरूलाई पावलको पत्र — Chapters