[1] पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।
[2] तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
[3] हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो ।
[4] परमेश्वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
[5] हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
[6] तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ ।
[7] त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्वास गर्नेहरू सबैका बीचमा उदाहरण भयौ ।
[8] तिमीहरूबाट परमेश्वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्नु आवश्यक छैन ।
[9] हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्वरको सेवा गर्न फर्क्यौ ।
[10] र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।