[1] भाइहरू हो, तिमीहरू आफैलाई थाहा छ कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन,
[2] तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बीचमा पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बताउन परमेश्वरमा साहसी भयौँ ।
[3] किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो,
[4] तर जसरी परमेश्वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई खुसी पार्नलाई बोल्छौँ ।
[5] तिमीहरूलाई थाहा छ र परमेश्वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ,
[6] न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ ।
[7] यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्चालाई सान्त्वना दिए जस्तै भद्र भयौँ ।
[8] यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौँ किनभने तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ ।
[9] किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्यौँ ।
[10] हामीले तिमीहरू विश्वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्यौँ भन्ने कुराको साक्षी तिमीहरू छौ र परमेश्वर पनि हुनुहुन्छ,
[11] तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,
[12] कि तिमीहरू परमेश्वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।
[13] यही कारणको निम्ति हामी परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्चै परमेश्वरको वचनको रूपमा नै ग्रहण गर्यौ
[14] किनभने भाइहरू हो, तिमीहरू ख्रीष्ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्वरको मण्डलीको नक्कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाए जस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।
[15] जसले प्रभु येशू र अगमवक्ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।
[16] तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
[17] भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्ट्याइएका थियौँ र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्यौँ ।
[18] किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ । म पावलले बारम्बार कोसिस गरेँ, तर शैतानले हामीलाई बाधा दियो ।
[19] किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र ?
[20] किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।