Skip to content
Opens in a new window
Listen to this chapter • 3:15

[1] जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी विश्‍वास गर्छ, त्‍यो परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ । र जसले पितालाई प्रेम गर्छ, त्‍यसले उहाँबाट जन्‍मनुहुनेलाई पनि प्रेम गर्छ ।

[2] जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्‍वरका सन्‍तानहरूलाई प्रेम गर्छौं भनी जान्‍दछौँ ।

[3] किनकि उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्‍वरको निम्ति प्रेम हो । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।

[4] किनकि परमेश्‍वरबाट जन्‍मेको हरेकले संसारलाई जित्छ । अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो ।

[5] येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी विश्‍वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो ?

[6] उहाँ यही हुनुहुन्‍छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्‍ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।

[7] किनकि गवाही दिनेहरू तिन छन्,

[8] आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्‍छन् ।

[9] हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्‍छ । किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।

[10] जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्‍यो आफैँसँग गवाही हुन्‍छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्‍यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्‍यसले विश्‍वास गरेको छैन ।

[11] अनि गवाही यही हो, कि परमेश्‍वरले हामीलाई अनन्‍त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।

[12] जससँग पुत्र छ, त्‍यससँग जीवन छ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्‍यससँग जीवन हुँदैन ।

[13] मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्‍त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक ।

[14] अनि यदि हामीले उहाँको इच्‍छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्‍ती सुन्‍नुहुन्‍छ । उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो ।

[15] अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्‍ती सुनुहुन्‍छ भनी हामी जान्‍दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्‍दछौँ ।

[16] यदि कसैले त्‍यसको भाइले मृत्‍युमा नपुर्‍याउने पाप गरिरहेको देख्छ भने त्‍यसले प्रार्थना गर्नुपर्छ, र मृत्‍युमा नपुर्‍याउने पाप गर्ने त्‍यसलाई परमेश्‍वरले क्षमा दिनुहुनेछ । मृत्‍युमा पुर्‍याउने पाप छ । त्‍यसले त्‍यसबारे बिन्‍ती चढाउनुपर्छ भनी म भन्‍दिनँ ।

[17] सबै अधार्मिकता पाप हो, तर मृत्‍युमा नपुर्‍याउने पाप पनि छ ।

[18] हामी जान्‍दछौँ, कि जो परमेश्‍वरबाट जन्‍मेको छ त्‍यसले पाप गर्दैन; तर जो परमेश्‍वरबाट जन्‍मेको छ, परमेश्‍वरले त्‍यसलाई सुरक्षित राख्‍नुहुन्‍छ, र दुष्‍टले त्‍यसलाई छुँदैन ।

[19] हामी जान्‍दछौँ, कि हामी परमेश्‍वरका हौँ, र सारा संसार दुष्‍टको नियन्‍त्रणमा परेको छ ।

[20] तर हामी जान्‍दछौँ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्‍य हुनुहुन्‍छ हामी उहाँलाई चिनौँ, र जो सत्‍य हुनुहुन्‍छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ । उहाँ साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहन्‍छ ।

[21] प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख ।

यूहन्‍नाको पहिलो पत्र — Chapters