Skip to content
Opens in a new window
Listen to this chapter • 4:42

[1] मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्‍छ ।

[2] उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्‍छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।

[3] यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्‍दछौँ कि हामी उहाँलाई चिन्‍छौँ ।

[4] जसले “म परमेश्‍वरलाई चिन्‍छु “ भन्‍छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो, र त्‍यसमा सत्‍य हुँदैन ।

[5] तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्‍यो व्‍यक्‍ति परमेश्‍वरको प्रेमले सिद्ध भएको हुन्‍छ । हामी उहाँमा छौँ भन्‍ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।

[6] परमेश्‍वरमा रहन्‍छु भन्‍ने व्यक्‍ति आफैँ पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ ।

[7] प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो ।

[8] तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ ।

[9] जसले ज्‍योतिमा छु भन्‍छ र आफ्नो भाइलाई घृणा गर्छ, त्‍यो अझ पनि अन्‍धकारमा नै छ ।

[10] जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसलाई ठेस लाग्‍ने कुनै अवसर हुँदैन ।

[11] तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्‍यो अझै अन्‍धकारमा नै हुन्‍छ र अन्‍धकारमा हिँड्छ । त्‍यो कहाँ गइरहेको छ भनी त्‍यसलाई थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसको आँखा अन्‍धो तुल्‍याएको छ ।

[12] मेरा प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पाप ख्रीष्‍टको नाउँको खातिर क्षमा गरिएका छन् ।

[13] बुबाहरू हो, म तपाईंहरूलाई लेख्‍छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्‍छ । जवानहरू हो, म तिमीहरूलाई लेख्‍छु, किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्‍छौ ।

[14] बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्‍नुहुन्‍छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरू दुष्‍टमाथि विजय भएका छौ ।

[15] संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन ।

[16] किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।

[17] संसार र यसका इच्‍छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ ।

[18] साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको छ भनी सुन्‍दै छौ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्‍दछौँ ।

[19] तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन्‌ । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्‍ने देखाउन तिनीहरू गए ।

[20] तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ ।

[21] तिमीहरूले सत्‍य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्‍य नहुने हुनाले हो ।

[22] येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी इन्‍कार गर्नेबाहेक अर्को झुट को हुन्‍छ ? यो व्‍यक्‍ति नै ख्रीष्‍ट विरोधी हो, किनभने त्‍यसले पिता र पुत्रलाई इन्‍कार गर्छ ।

[23] पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्‍छ ।

[24] तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्‍छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्‍छौ ।

[25] उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्‍त जीवन यही हो ।

[26] तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।

[27] तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्‍छ, अनि त्‍यो सत्‍य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।

[28] अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ ।

[29] यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्‍दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्‍मेको हो भन्‍ने तिमीहरूले जान्‍दछौ ।

यूहन्‍नाको पहिलो पत्र — Chapters