Skip to content
Opens in a new window
Listen to this chapter • 2:01

[1] एल्डरबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्‍यतामा प्रेम गर्दछु- र मैले मात्र होइन तिनीहरू सबैले पनि प्रेम गर्छन् जसले सत्‍यता जानेका छन्-

[2] हामीभित्र जुन सत्‍यता छ र हामीसँग सदासर्वदा रहनेछ त्‍यही सत्‍यताले गर्दा प्रेम गर्छौं ।

[3] परमेश्‍वर पिता र येशू ख्रीष्‍ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्‍ति सत्‍यता र प्रेममा रहोस् ।

[4] जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गर्‍यौँ त्‍यसरी नै तिम्रा केही छोराछोरीहरू सत्‍यतामा हिडेको मैँले भेट्टाएर म अति आनन्‍दित छु ।

[5] अब हे महिला, म तिमीलाई बिन्‍ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्‍तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।

[6] र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुने जस्‍तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ ।

[7] किनकि धेरै छलीहरू संसारमा गएका छन्, जसले येशू शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो ।

[8] आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।

[9] जो अगाडि बढिरहन्‍छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्‍यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्‍छ योसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ ।

[10] यदि कोही तिमीकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्‍यसलाई तिम्रो घरमा स्वागत नगर र त्‍यसलाई अभिवादन पनि नगर ।

[11] किनकि जसले त्‍यसलाई अभिवादन गर्छ त्‍यो त्‍यसको दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ ।

[12] मैले तिमीलाई धेरै कुराहरू लेख्‍नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्‍छा गरिन । तर पनि म तिमीकहाँ आउने आशा गर्छु, ताकि हाम्रो आनन्‍द पूर्ण होस् ।

[13] तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।