Skip to content
Opens in a new window
Listen to this chapter • 2:32

[1] जब थुमाले सातौँ मोहर खोल्नुभयो, तब स्वर्गमा प्रायः आधा घण्टासम्म सन्‍नाटा छायो।

[2] अनि मैले परमेश्‍वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो।

[3] अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो।

[4] स्वर्गदूतको हातबाट धूपको धुवाँ सन्तहरूका प्रार्थनासँगसँगै उँभो उठ्दै परमेश्‍वरको उपस्थितिमा गयो।

[5] तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, र त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्‍न भयो, र भुइँचालो गयो।

[6] तब सात वटा तुरहीहरू भएका ती सात स्वर्गदूतहरू तुरही फुक्न तयार भए।

[7] जब पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, तब त्यहाँ रगतमा मिसिएका असिना र आगो उत्पन्‍न भए, र पृथ्वीमाथि वर्षिए। पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू जलेर भस्म भयो।

[8] जब दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब बल्दैगरेको एउटा ठूलो पहाडजस्तै कुनै वस्तु समुद्रमा फालियो; अनि समुद्रको एक तिहाइ भाग रगतमा परिणत भयो।

[9] समुद्रमा भएका जीवित प्राणीहरूको एक तिहाइ भाग मरे; अनि जहाजहरूको एक तिहाइ भाग नष्‍ट भयो।

[10] जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो;

[11] त्यस ताराको नाम तितो हो। पानीको तेस्रो भाग तितो भयो, र तितो पानीका कारण धेरै मानिसहरू मरे।

[12] जब चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, तब सूर्यको एक तिहाइ भागमाथि र चन्द्रमाको एक तिहाइ भागमाथि अनि ताराहरूको एक तिहाइ भागमाथि प्रहार भयो; जसद्वारा तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो। दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भाग पनि ज्योतिविहीन भयो।

[13] जसरी मैले ध्यानसित हेरिरहेको थिएँ, आकाशको बीचमा उडिरहेको एउटा गरुडले चर्को सोरमा यसो भनिरहेको सुनेँ: “अरू तीन स्वर्गदूतहरूले फुक्न लागेका तुरहीका आवाजहरूको कारण पृथ्वीवासीहरूलाई आतङ्क! आतङ्क! आतङ्क!”

प्रकाश — Chapters