[1] तब त्यस स्वर्गदूतले मलाई परमेश्वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए,
[2] जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्।
[3] त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्।
[4] तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ।
[5] अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्।
[6] ती स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। परमप्रभु, जो अगमवक्ताहरूका आत्माका परमेश्वर हुनुहुन्छ, उहाँले उहाँका सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू देखाउनलाई आफ्ना स्वर्गदूत पठाउनुभएको छ।”
[7] “हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।”
[8] यी कुराहरू सुन्ने र देख्ने म, स्वयम् यूहन्ना हुँ। अनि जब मैले यी सुनेँ र देखेँ, तब यी कुराहरू मलाई देखाइरहने स्वर्गदूतलाई आराधना गर्न भनेर म तिनको पाउमा घोप्टो परेँ।
[9] तर ती स्वर्गदूतले मलाई भने, “यसो नगर! म त तिमीजस्तै एक सङ्गी-सेवक हुँ। म तिम्रा सङ्गी-अगमवक्ता र यस पुस्तकका वचनहरू पालन गर्नेहरूजस्तै हुँ। परमेश्वरलाई मात्र दण्डवत् गर!”
[10] तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि अगमवाणी पूरा हुने समय नजिकै छ।
[11] जसले खराबी गर्छ, त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठिक छ, त्यसले ठिकै गरिरहोस्; अनि जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।”
[12] “हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु।
[13] म नै अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।
[14] “जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्।
[15] बाहिरचाहिँ कुकुरहरू; तन्त्रमन्त्र गर्नेहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू हुन्छन्।
[16] “म येशूले मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दावीदको मूल र सन्तान, र बिहानको चहकिलो तारा हुँ।”
[17] आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्।
[18] म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ।
[19] यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ।
[20] यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्नुहुन्छ, “हेर, म चाँडै आउँदैछु!” आमेन! आउनुहोस्, हे प्रभु येशू!
[21] प्रभु येशूको अनुग्रह परमेश्वरका सबै जनहरूसँग रहोस्! आमेन।