[1] तब मैले एउटा पशुलाई समुद्रबाट निस्कँदैगरेको देखेँ। त्यसका दश वटा सिङहरू र सात वटा शिरहरू थिए, र त्यसका सिङहरूमा दश वटा मुकुटहरू थिए; अनि प्रत्येक शिरमाथि एउटा ईश्वरनिन्दाको नाम लेखिएको थियो।
[2] मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता र मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो।
[3] त्यस पशुका शिरहरूमध्ये एउटामा प्राणघातक चोट लागेको जस्तो थियो; तर त्यो घातक चोट निको भएको थियो। सारा पृथ्वी छक्क पर्यो र त्यस पशुको पछि लाग्यो।
[4] मानिसहरूले त्यस अजिङ्गरको आराधना गरे; किनकि त्यसले नै त्यस पशुलाई अधिकार दिएको थियो, र तिनीहरूले त्यस पशुलाई पनि आराधना गरेर यसो भनी सोधे, “यो पशुजस्तो को छ र? यससित लडाइँ गर्न कसले सक्छ र?”
[5] त्यस पशुलाई अहङ्कारका शब्दहरू र ईश्वरनिन्दाहरू बोल्नलाई एउटा मुख र बयालीस महिनासम्म आफ्नो शक्ति चलाउने अख्तियार दिइयो।
[6] परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाम, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्न त्यसले आफ्नो मुख खोल्यो।
[7] त्यसलाई सबै सन्तहरूसित लडाइँ गर्ने र तिनीहरूलाई जित्ने शक्ति दिइयो। त्यसलाई प्रत्येक कुल, जाति, भाषा र राष्ट्रहरूमाथि अख्तियार दिइयो।
[8] अनि पृथ्वीमा बास गर्ने सबैले त्यस पशुको आराधना गर्नेछन्, अथवा तिनीहरूले, जसका नामहरू संसारको सृष्टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्।
[9] जसको कान छ, त्यसले सुनोस्।
[10] “यदि कोही कैदका लागि छ भने, त्यो कैदमा जानेछ। यदि कसैलाई तरवारले मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ।” परमेश्वरका जनहरूको धैर्यशाली सहनशीलता र विश्वासयोग्यता यसैमा हुनुपर्छ।
[11] तब मैले पृथ्वीबाट माथि निस्कँदैगरेको अर्को पशु देखेँ। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले जस्तो बोल्थ्यो।
[12] त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो; अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो।
[13] त्यसले अलौकिक चिन्हहरू देखायो, यहाँसम्म कि मानिसहरूले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगोसमेत झार्यो।
[14] त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउनलाई हुकुम दियो।
[15] त्यस पहिलो पशुको मूर्तिले बोलोस् भनेर त्यसमा सास हाल्ने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि त्यस मूर्तिलाई आराधना नगर्ने सबै मारिऊन्।
[16] त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू सबैलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लगाउन कर लगायो।
[17] त्यो छापचाहिँ त्यस पहिलो पशुको नाम अथवा त्यसको नामको संख्या हो, यो छापबाहेक कसैले पनि किन्न वा बेच्न नपाउने भयो।
[18] बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्; किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।