Skip to content
Opens in a new window
Listen to this chapter • 3:53

[1] मलाई एउटा नाप्‍ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्‍वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर।

[2] तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्।

[3] अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।”

[4] यिनीहरू “ती दुई जैतुनका रूखहरू” र दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।”

[5] यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्‍टा गर्नेहरू मर्नुपर्नेछ।

[6] यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्‍ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ।

[7] अब तिनीहरूले अगमवाणी गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ।

[8] तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्‍टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो।

[9] साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्।

[10] पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, र एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए।

[11] तर साढे तीन दिनपछि परमेश्‍वरबाट जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए; अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए।

[12] तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए।

[13] ठिक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, र त्यस सहरको दशौँ भाग ढल्यो। सात हजार मानिसहरू भुइँचालोमा मारिए, र बाँचेकाहरू भयभीत भए; अनि स्वर्गका परमेश्‍वरलाई महिमा दिए।

[14] दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ।

[15] जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: “संसारको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।”

[16] अनि परमेश्‍वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्‍ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्‍वरलाई आराधना गर्दै

[17] यसो भने: “हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो; किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ, र राज्य गर्न थाल्नुभएको छ।

[18] राष्ट्रहरू क्रोधित भएका थिए, र तपाईंको क्रोध आइपुगेको छ। मरेकाहरूको न्याय हुने बेला आएको छ; अनि तपाईंका सेवक अगमवक्ताहरू, तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्; ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ; अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्‍ट गर्ने समय आएको छ।”

[19] तब स्वर्गमा भएको परमेश्‍वरको मन्दिर खोलियो; अनि त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, र भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।

प्रकाश — Chapters