Skip to content
Opens in a new window
Listen to this chapter • 3:48

[1] तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।

[2] येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए।

[3] दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।”

[4] येशूले जवाफ दिनुभयो, “हे नारी, मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।”

[5] उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।”

[6] यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए।

[7] येशूले सेवकहरूलाई भन्‍नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।

[8] त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।” तिनीहरूले त्यसै गरे।

[9] जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए,

[10] र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।”

[11] येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे।

[12] यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो।

[13] यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो।

[14] उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो।

[15] तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्‍काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो।

[16] उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!”

[17] उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: “तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।”

[18] त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?”

[19] येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”

[20] तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?”

[21] तर उहाँले भन्‍नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो।

[22] उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्‍नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्‍वास गरे।

[23] अब निस्तार चाडको भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे। अनि उहाँको नाममा विश्‍वास गरे।

[24] तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन। किनकि उहाँले सबै मानिसहरूलाई चिन्‍नुहुन्थ्यो।

[25] उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन; किनकि मानिसको मनभित्र के छ, त्यो उहाँले जान्‍नुहुन्थ्यो।

यूहन्‍ना — Chapters