Skip to content
Opens in a new window
Listen to this chapter • 6:42

[1] प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। पारिपट्टि एउटा बगैँचा थियो, र उहाँ आफ्ना चेलाहरूसँग त्यहाँ जानुभयो।

[2] उहाँलाई धोका दिने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो; किनकि येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रायजसो भेटघाट गर्नुहुन्थ्यो।

[3] मुख्य पुजारीहरू र फरिसीहरूका दलबाट केही रोमी सिपाहीहरू र केही हाकिमहरू लिएर यहूदा त्यहाँ आयो। तिनीहरूले आफूसँग राँको, लालटिन र हातहतियार ल्याएका थिए।

[4] तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?”

[5] “नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।)

[6] उहाँले “म उही नै हुँ,” भन्‍नसाथ तिनीहरू सबै पछि हटे, र भुइँमा लोटे।

[7] फेरि एकपल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए।

[8] येशूले भन्‍नुभयो, “मैले भनिहालेँ, म उही नै हुँ। यसकारण मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।”

[9] उहाँले भन्‍नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।”

[10] तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्‍यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।)

[11] येशूले पत्रुसलाई भन्‍नुभयो, “तिम्रो तरवार म्यानभित्र हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ र?”

[12] त्यसपछि सिपाहीहरू, सेनापतिहरू र यहूदी हाकिमहरूले येशूलाई पक्रे, र उहाँलाई पाता कसे।

[13] अनि तिनीहरूले उहाँलाई पहिले त्यस वर्षको प्रधान पुजारी, कैयाफाका ससुरा हन्‍नासकहाँ लगे।

[14] सबैका निम्ति एक जना मर्नु नै असल हुन्छ भनी यहूदीहरूलाई सल्‍लाह दिने व्यक्ति कैयाफा नै थिए।

[15] सिमोन पत्रुस र अर्को चेला येशूको पछि-पछि लागे। प्रधान पुजारीसँग चिनजान भएको हुनाले यी अर्का चेला येशूसँगै प्रधान पुजारीको आँगनभित्र पसे।

[16] तर पत्रुसचाहिँ ढोकाबाहिर नै उभिएका थिए। प्रधान पुजारीसँग चिनजान भएका ती अर्का चेला फर्केर आए। अनि ढोकामा पाले बसेकी केटीलाई भनसुन गरे, र पत्रुसलाई भित्र ल्याए।

[17] ढोकामा पाले बस्‍ने त्यस केटीले पत्रुसलाई सोधी, “तिमी पनि येशूका चेलाहरूमध्ये एक होइनौ र?” “अहँ, म त होइनँ।” तिनले भने।

[18] जाडोले गर्दा ती घरका सेवकहरू र हाकिमहरू न्यानो पार्न आफूले बालेका आगो वरिपरि बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँग मिसिएर आगो ताप्न लागे।

[19] यसै बीचमा प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँले दिनुभएको शिक्षाको विषयमा सोध्न थाले।

[20] येशूले जवाफ दिनुभयो, “संसारसँग म खुल्‍लमखुल्‍ला बोलेको छु। मैले सधैँ सभाघरहरू र मन्दिरमा शिक्षा दिन्थेँ, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। गुप्‍तमा मैले केही भनेको छैनँ।

[21] तपाईंहरू मलाई यो प्रश्न किन सोध्नुहुन्छ? तिनीहरूलाई सोध्नुहोस्, जसले मेरा शिक्षा सुनेका छन्। निश्‍चय नै मैले भनेका कुरा तिनीहरूलाई थाहा छ।”

[22] येशूको कुरा सुनेर त्यहाँ उभिरहेको एक जना हाकिमले उहाँलाई थप्पड लायो। “के प्रधान पुजारीलाई उत्तर दिने तरिका यही हो?” भनेर त्यसले सोध्यो।

[23] “मैले गलत बोलेको भए त्यसको प्रमाण देऊ,” येशूले जवाफ दिँदै भन्‍नुभयो, “मैले सत्य बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?”

[24] तब हन्‍नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाइदिए।

[25] सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब तिनलाई कसैले फेरि सोध्यो, “के तिमी पनि उसैको चेलाहरूमध्येका एक होइनौ र?” तिनले इन्कार गर्दै भने, “म त होइनँ।”

[26] प्रधान पुजारीका सेवकहरूमध्ये एक जनाले अर्थात् जसको कान पत्रुसले काटिदिएका थिए, त्यसैको आफन्तले सोध्यो, “के तिमीलाई मैले येशूसँग बगैँचामा देखेको होइन र?”

[27] पत्रुसले फेरि पनि अस्वीकार गरे; तब त्यसै बेला भाले बास्यो।

[28] त्यति बेला बिहान भइसकेको थियो। यहूदीहरूले येशूलाई कैयाफाकहाँबाट रोमी राज्यपालको महलमा लगे। तिनीहरू निस्तार चाडको भोज खान चाहन्थे, यसैले यहूदीहरू आफ्नो संस्कारअनुसार अशुद्ध नहोऔँ भनी महलभित्र पसेनन्।

[29] यसो हुँदा राज्यपाल पिलातस तिनीहरूकहाँ बाहिर आएर सोधे, “यस मान्छेको विरुद्धमा तिमीहरूले के आरोप लगाएका छौ?”

[30] “यो मानिस अपराधी नभएको भए हामी यसलाई पक्रेर तपाईंकहाँ ल्याउने नै थिएनौँ,” तिनीहरूले जवाफ दिए।

[31] पिलातसले तिनीहरूलाई भने, “तब तिमीहरूले यिनलाई लगेर तिमीहरूको व्यवस्थाअनुसार यिनको न्याय गर।” यहूदी अगुवाहरूले भने, “तर कसैलाई मृत्युदण्ड दिने अधिकार हामीसँग छैन।”

[32] उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने बारेमा येशू आफूले भन्‍नुभएको वचन पूरा हुन यी सबै कुरा भइरहेका थिए।

[33] तब पिलातस दरबारभित्र पसे, र येशूलाई आफूकहाँ हाजिर गराउने आज्ञा दिए, र उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”

[34] येशूले सोध्नुभयो, “मेरो बारेमा यो तपाईंको आफ्नै भनाइ हो, कि अरू कसैले मेरो बारेमा तपाईंलाई यो कुरा भने?”

[35] पिलातसले जवाफ दिए, “म यहूदी हुँ र? तिम्रा आफ्नै जातिहरू र मुख्य पुजारीहरूले तिमीलाई मकहाँ सुम्पेका हुन्। तिमीले के गर्‍यौ?”

[36] येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, यहूदीहरूले मलाई पक्रँदा त्यो रोक्न मेरा सेवकहरूले मेरा निम्ति युद्ध गर्नेथिए; तर मेरो राज्य यस संसारको होइन।”

[37] पिलातसले भने, “त्यसो भए के तिमी राजा नै हौ?” येशूले भन्‍नुभयो, “म राजा हुँ भनी तपाईंले ठिकै भन्‍नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।”

[38] पिलातसले सोधे, “सत्यता के हो त?” त्यसपछि तिनी फेरि मानिसहरूका अगि गएर भने, “उनको विरुद्धमा मैले केही दोष भेट्टाइनँ।

[39] तर हरेक वर्ष निस्तार चाडको समय मैले तिमीहरूका निम्ति एक जना कैदीलाई छोडिदिने तिमीहरूको चलन छ। यसकारण तिमीहरू के चाहन्छौ ‘के म यहूदीहरूको राजालाई’ छोडिदिऊँ?”

[40] तर तिनीहरूले चिच्याएर भने, “यस मान्छेलाई होइन! तर बारब्बालाई छोडिदिनुहोस्!” बारब्बाचाहिँ एक विद्रोही थियो।

यूहन्‍ना — Chapters