Skip to content
Opens in a new window
Listen to this chapter • 7:05

[1] आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो।

[2] आदिमा उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो।

[3] सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन।

[4] उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।

[5] ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।

[6] परमेश्‍वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्‍ना थियो।

[7] तिनीद्वारा सबै मानिसहरूले विश्‍वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए।

[8] तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए।

[9] हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।

[10] उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन।

[11] उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।

[12] तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो।

[13] ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्‍वरबाट जन्मेका हुन्।

[14] वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।

[15] यूहन्‍नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्‍च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।”

[16] उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ।

[17] किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।

[18] परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्‍वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।

[19] जब यरूशलेमका यहूदीहरूले तिनी को हुन् भनी सोध्न पुजारीहरू र लेवीहरूलाई पठाए, तब यूहन्‍नाले दिएको गवाही यही थियो।

[20] तिनी स्वीकार गर्न चुकेनन्, तर “म ख्रीष्‍ट होइनँ” भनी स्पष्‍ट रूपमा स्वीकार गरे।

[21] तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ? के तिमी एलिया हौ?” तिनले भने, “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” तिनले जवाफ दिए, “म होइनँ।”

[22] अन्त्यमा तिनीहरूले सोधे, “तिमी को हौ त? हामीलाई पठाउनेहरूलाई बताउनको निम्ति हामीलाई एउटा जवाफ देऊ। तिमी आफ्नो विषयमा के भन्छौ?”

[23] यूहन्‍नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “ ‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।”

[24] तब पठाइएका केही फरिसीहरूले

[25] तिनलाई सोधे, “यदि तिमी ख्रीष्‍ट अथवा एलिया वा अगमवक्ता कोही पनि होइनौ भने, किन बप्‍तिस्मा दिन्छौ त?”

[26] यूहन्‍नाले जवाफ दिए, “म त तिमीहरूलाई पानीद्वारा बप्‍तिस्मा दिन्छु, तर तिमीहरूका बीचमा एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।

[27] मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जतिको पनि म योग्यको छैनँ।”

[28] यी सबै कुरा यर्दन नदीपारि यूहन्‍नाले बप्‍तिस्मा दिइरहेको ठाउँ बेथानीमा भएको थियो।

[29] भोलिपल्ट यूहन्‍नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!

[30] उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ, ‘मभन्दा पछि एक जना, जो आउँदैहुनुहुन्छ, उहाँ मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्थ्यो।’

[31] म आफैँले उहाँलाई चिनेको थिइनँ, तर इस्राएलमा उहाँ प्रकट हुनुभएको होस् भनेर मैले पानीले बप्‍तिस्मा दिँदै आएँ।”

[32] त्यसपछि यूहन्‍नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्‍नुभएको देखेँ।

[33] मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्‍तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्‍तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’

[34] अनि मैले देखेँ, र गवाही पनि दिन्छु, उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्छ।”

[35] भोलिपल्ट फेरि यूहन्‍ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए।

[36] जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्‍वरका थुमा!”

[37] जब तिनीहरूले उनले भनेको यो कुरा सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे।

[38] जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्‍नुहुन्छ?”

[39] उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्‍नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करिब चार बजेको थियो।

[40] यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।

[41] तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्‍टलाई भेट्टाएका छौँ।”

[42] अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।”

[43] भोलिपल्ट येशूले गालील जाने निश्‍चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्‍नुभयो, “मलाई पछ्याऊ।”

[44] फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए।

[45] फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।”

[46] “नासरत!” नथानेलले छक्‍क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?” “आएर हेर!” फिलिपले भने।

[47] येशूले नथानेललाई आफूतिर आउँदैगरेका देख्नुभएपछि तिनको विषयमा भन्‍नुभयो, “हेर, एक जना साँचो इस्राएली, जसमा कुनै छलकपट छैन।”

[48] “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” नथानेलले सोधे। “फिलिपले तिमीलाई बोलाउनुभन्दा अगि नै मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ।” येशूले जवाफ दिनुभयो।

[49] तब नथानेलले “रब्बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ। तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।” भन्दै घोषणा गरे।

[50] येशूले भन्‍नुभयो, “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ भनी तिमीलाई भनेकोले नै तिमी विश्‍वास गर्छौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।”

[51] उहाँले अझै भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लिँदै-ओर्लिँदैगरेको देख्नेछौ।”

यूहन्‍ना — Chapters