Skip to content
Opens in a new window
Listen to this chapter • 5:12

[1] “तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्‍वरमाथि विश्‍वास राख, र ममाथि पनि विश्‍वास राख।

[2] मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्‍नेथिइनँ।

[3] म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु।

[4] म जहाँ जाँदैछु, त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।”

[5] थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्‍ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्‍न सक्छौँ?”

[6] येशूले भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।

[7] यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ।”

[8] फिलिपले भने, “गुरुज्यू, हामीलाई पिता देखाइदिनुहोस्, यही नै हामीलाई पर्याप्‍त हुनेछ।”

[9] येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ?

[10] म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमीलाई विश्‍वास छैन? मैले तिमीहरूलाई भनेका यी वचनहरू मेरा आफ्नै अधिकारले भनेको होइनँ; वास्तवमा ममा हुनुहुने मेरा पिताले आफ्नो काम गर्दै हुनुहुन्छ।

[11] म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्‍वास गर; नत्रता कमसे कम मैले गरेका अचम्मका कामहरूकै कारणले मलाई विश्‍वास गर।

[12] म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले ममाथि विश्‍वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु।

[13] मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्।

[14] तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु।

[15] “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू मान्‍नेछौ।

[16] म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ।

[17] उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, र चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ। किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ।

[18] म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।

[19] केही बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ।

[20] त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, र म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ।

[21] जससँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछन्, तिनीहरूले नै मलाई प्रेम गर्दछन्। अनि मलाई प्रेम गर्नेहरूलाई पिताले प्रेम गर्नुहुन्छ। अनि म पनि तिनीहरूलाई प्रेम गर्नेछु, र आफूलाई तिनीहरूकहाँ प्रकट गरिदिनेछु।”

[22] यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्‍न?”

[23] येशूले जवाफ दिनुभयो, “जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू पालन गर्नेछ। मेरा पिताले त्यसलाई पनि प्रेम गर्नुहुनेछ। अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ।

[24] मलाई प्रेम नगर्नेले मेरा शिक्षाहरू पालन गर्दैन। तिमीहरूले सुनेका यी वचनहरू मेरा आफ्नै होइनन्, तर मलाई पठाउनुहुने पिताका हुन्।

[25] “म अहिले तिमीहरूसँग छँदै यी कुराहरू तिमीहरूलाई भनेको छु।

[26] पिताले मेरो नाममा पठाइदिनुहुने सल्‍लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ। मैले भनेका प्रत्येक कुरा पनि तिमीहरूलाई सम्झना गराइदिनुहुनेछ।

[27] शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।

[28] “मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्‍चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्‍ने कुरामा तिमीहरू आनन्दित हुनेछौ। किनकि पिता मभन्दा महान् हुनुहुन्छ।

[29] अनि यी कुराहरू हुन आउनुभन्दा अगि नै मैले तिमीहरूलाई सबै भनिदिएको छु। किनकि जब यी कुराहरू पूरा हुनेछन्, तब तिमीहरूले विश्‍वास गर्नेछौ।

[30] म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ। त्यसको ममाथि केही अधिकार छैन।

[31] तर म पितालाई प्रेम गर्छु, र उहाँले मलाई दिनुभएका आज्ञाहरू मैले ठिकसँग पालन गर्छु भनी संसारले जान्‍नुपर्छ। “उठ, हामी यहाँबाट जाऔँ।”

यूहन्‍ना — Chapters