[1] हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू हाम्रा महिमित प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरू भएकाले पक्षपात नगर।
[2] मानौँ, तिमीहरूका सभामा एक जना मानिस सुनको औँठी र सुन्दर लुगा लगाएर आयो, र झुत्रे लुगा लगाएको गरिब मानिस पनि आयो;
[3] यदि तिमीहरूले सुन्दर लुगा लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीँ उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने,
[4] के तिमीहरू आपसमा पक्षपात गरेर दुष्ट विचारले न्याय गर्नेहरू भएनौ र?
[5] मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्वरले विश्वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्नुभएको होइन र?
[6] तर तिमीहरूले त गरिबहरूलाई अपमान गरेका छौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने धनीहरू नै होइनन्?
[7] के तिनीहरूले त्यही आदरणीय नामको निन्दा गर्दैनन्, जुन नामले तिमीहरू बोलाइएका छौ?
[8] यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ।
[9] तर तिमीहरूले पक्षपात गर्यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्लङ्घन गरेको दोष लगाउँछ।
[10] किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्लङ्घन गर्नेजस्तै दोषी हुनेछ।
[11] किनकि जसले “व्यभिचार नगर्नू” भन्नुभयो, उहाँले “मानव हत्या नगर्नू” पनि भन्नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरू भयौ।
[12] स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर;
[13] किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ।
[14] हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्वासले तिनीहरूलाई बचाउन सक्छ र?
[15] मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ;
[16] अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र?
[17] यस्तै किसिमले कामविनाको विश्वास पनि मरेतुल्य हुन्छ।
[18] तर कसैले भन्ला, “तिमीसँग विश्वास छ, तर मसँग कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्वास देखाउनेछु।
[19] परमेश्वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्वास गर्छौ; यो असल कुरा हो! दुष्ट आत्माहरूले पनि त्यो विश्वास गर्छन् र काँप्तछन्।
[20] ए मूर्ख हो, के कामविनाको विश्वास व्यर्थ हो भनेर तिमी बुझ्दैनौ?
[21] आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र?
[22] तिमी देख्दछौ, तिनको विश्वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्वास पूरा भयो।
[23] “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो” भन्ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्वरका मित्र कहलिए।
[24] तिमीहरू देख्छौ, विश्वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ।
[25] यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्, तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र?
[26] जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्वास पनि कामविना मरेतुल्य हुन्छ।