Skip to content
Opens in a new window
Listen to this chapter • 3:41

[1] तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्‍ट आइरहेको छ।

[2] तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्।

[3] तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ।

[4] हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूको विलाप सर्वशक्तिमान् प्रभुको कानमा पुगेको छ।

[5] तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्‍टाइराखेका छौ।

[6] तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ।

[7] त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्‍लो र पछिल्‍लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ।

[8] तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ।

[9] हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ!

[10] हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्‍टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ।

[11] तिमीहरूलाई थाहै छ, कि कष्‍ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।

[12] हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ “हो” अनि “होइन” चाहिँ “होइन” होस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ।

[13] के तिमीहरूमध्ये कोही सङ्कष्‍टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्।

[14] के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई उसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाओस्।

[15] अनि विश्‍वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ।

[16] यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।

[17] एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन।

[18] तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्‍नहरू उब्जायो।

[19] हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,

[20] यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।

याकोब — Chapters