[1] यी कुराहरू गरिसकेपछि अगुवाहरू मकहाँ आएर भने, “इस्राएलका मानिसहरूका साथै, पुजारीहरू र लेवीहरूले यहाँका स्थानीयवासीहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, इजिप्टियन र एमोरीहरूका घृणित व्यवहारहरूबाट आफैँलाई अलग राखेका छैनन्।
[2] तिनीहरूले कनानीहरूका छोरीहरूलाई आफू र आफ्ना छोराहरूका निम्ति पत्नीको रूपमा लगेका छन्। तिनीहरूले वरिपरिका मानिसहरूसँग घुलमिल गरेर पवित्र जातिलाई अशुद्ध पारेका छन्। यसरी अगुवाहरू र अधिकारीहरूले विश्वासघातको बाटोमा अगुवाइ गरेका छन्।”
[3] जब मैले यो कुरा सुनेँ, तब मैले आफ्नो पोशाक र खास्टो च्यातेँ, शिरको र दाह्रीको केश उखेलेँ; अनि स्तब्ध भएर बसेँ।
[4] त्यसपछि निर्वासनमा गएकाहरूको पापको कारण इस्राएलका परमेश्वरको वचनदेखि डराउनेहरू सबै मेरो वरिपरि भेला भए। अनि म बेलुकीको बलिदानको समयसम्म स्तब्ध भएर बसिरहेँ।
[5] त्यसपछि साँझको बलिदानको समयमा म आफ्नो शोकाकुल अवस्थाबाट फाटेकै पोशाक र खास्टोसित उठेँ; अनि याहवेह मेरा परमेश्वरको सामु घुँडा टेकेर आफ्ना हातहरू फैलाउँदै
[6] प्रार्थना गरेँ: “हे मेरा परमेश्वर, तपाईंतिर मेरो अनुहार देखाउन म अति नै लज्जित र अपमानित भएको छु; किनकि हाम्रा पापहरू हाम्रो शिरभन्दा माथि छन् र हाम्रा दोषहरू आकाशसम्मै पुगेका छन्।
[7] हाम्रा पितापुर्खाहरूका दिनदेखि आजसम्म, हाम्रा दोषहरू अत्यन्तै धेरै भएका छन्। हाम्रा पापहरूले गर्दा हामी र हाम्रा राजाहरू र हाम्रा पुजारीहरूले विदेशी राजाहरूका तरवारबाट आजसम्मै मृत्यु, लुटपाट, कैद र अपमान खेप्नुपरेको छ, आज पनि हाम्रो हालत त्यस्तै छ।
[8] “तर अब थोरै समयका लागि याहवेह हाम्रा परमेश्वर हामीप्रति कृपालु हुनुभएर हामीमध्ये केहीलाई अवशेषको रूपमा बचाउनुभएको छ; अनि उहाँको पवित्रस्थानमा हामीलाई एउटा स्थिर ठाउँ दिनुभएको छ। यसरी हाम्रा परमेश्वरले हाम्रा आँखाहरूमा ज्योति र हाम्रा दासत्वबाट केही विश्राम दिनुभएको छ।
[9] हामीहरू दासहरू भए तापनि हाम्रा परमेश्वरले हामीलाई दासत्वमा त्याग्नुभएको छैन। परसीयाका राजाको सामु उहाँले हामीलाई अचुक कृपा देखाउनुभएको छ: हाम्रा परमेश्वरको भवन फेरि बनाउन र भत्केका भागलाई पुनर्निर्माण गर्नलाई उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ। अनि उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनुभएको छ।
[10] “तर अब हे हाम्रा परमेश्वर, यो भएपछि हामीले के भन्न सक्छौँ र? किनकि हामीले आज्ञाहरू तोडेका छौँ,
[11] जुन तपाईंले आफ्नो सेवक अगमवक्ताहरूद्वारा अधिकार गर्न दिनुभयो; अनि त्यस बेला तपाईंले भन्नुभयो: ‘जुन देशमा तिमीहरू प्रवेश गर्न लागेका छौ, त्यो देश त्यहाँका मानिसहरूको अशुद्धताले दूषित पारिएको छ। तिनीहरूका घृणित व्यवहारहरूले र तिनीहरूका अशुद्धताले देशको एक कुनादेखि अर्को कुनासम्म भरिएको छ।
[12] यसकारण तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूसित विवाहको निम्ति नदिनू। अनि तिमीहरूले पनि उनीहरूका छोरीहरू आफ्ना छोराहरूका निम्ति नल्याउनू। तिनीहरूसित मित्रताको नाता कहिल्यै नजोड्नु, ताकि तिमीहरू बलिया हुन सक र त्यस देशको असल थोकहरूमा अधिकार गर्न सक। तिमीहरूका सन्तानहरूका निम्ति सदासर्वदाका लागि पैतृक सम्पत्तिको रूपमा राख्न सक।’
[13] “हामीलाई जे भएको छ, त्यो हाम्रै दुष्ट कामहरू र हाम्रै ठूलो दोषको परिणाम हो। तथापि हाम्रा परमेश्वर, तपाईंले हाम्रा पापहरूभन्दा कम नै सजाय दिनुभएको छ; यसरी हामीलाई अझै बाँकी राख्नुभएको छ।
[14] के हामी फेरि तपाईंका आज्ञाहरूलाई तोडेर घृणित व्यवहार गर्ने र घृणित काम गर्ने मानिसहरूसित अन्तर-विवाह गर्ने? अनि के तपाईं हामीलाई एउटै पनि बाँकी नराखी नाश पार्न, अथवा एउटै पनि जीवित नछोडेसम्म तपाईंलाई रिस उठ्दैन थियो र?
[15] हे याहवेह, इस्राएलका परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ! आजको दिनसम्म हामी अवशेषको रूपमा छोडिएका छौँ। यहाँ हामी हाम्रा दोषहरूसहित तपाईंको उपस्थितिमा छौँ। यद्यपि पापको कारणले हामीमध्ये कोही पनि तपाईंको उपस्थितिमा उभिन योग्यको छैनौँ।”