[1] यी सबै घटनापछि परसीयाका राजा अर्तसास्तको शासनकालमा एज्रा बेबिलोनबाट आए। एज्रा सरायाहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो हिल्कियाहका छोरा थिए,
[2] हिल्कियाह शल्लूमका छोरा थिए, जो सादोकका छोरा थिए, जो अहीतूबका छोरा थिए,
[3] अहीतूब अमर्याहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो मरायोतका छोरा थिए,
[4] मरायोत जरयाहका छोरा थिए, जो उज्जीका छोरा थिए, जो बुक्कीका छोरा थिए,
[5] बुक्की अबीशूका छोरा थिए, जो पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार प्रधान पुजारी हारूनका छोरा थिए।
[6] यी तिनै एज्रा हुन्, जो याहवेह इस्राएलका परमेश्वरले दिनुभएको मोशाको व्यवस्थामा एक निपुण शिक्षक थिए। तिनले मागेका हरेक कुरा राजाले दिएका थिए; किनकि याहवेह तिनका परमेश्वरको हात तिनीमाथि थियो।
[7] राजा अर्तसास्तको सातौँ वर्षमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू यरूशलेममा आए।
[8] अर्तसास्त राजाको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरूशलेममा आइपुगे।
[9] तिनले आफ्नो यात्रा पहिलो महिनाको पहिलो दिनमा बेबिलोनदेखि सुरु गरेका थिए। अनि तिनी पाँचौँ महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे; किनकि तिनका परमेश्वरको कृपालु हात तिनीमाथि थियो।
[10] एज्राले आफूलाई इस्राएलमा याहवेहको व्यवस्था अध्ययन गर्न, पालन गर्न, व्यवस्थाका आज्ञाहरू र नियमहरू सिकाउनलाई अर्पण गरेका थिए।
[11] राजा अर्तसास्तले पुजारी एज्रालाई दिएको पत्रको प्रतिलिपि यही हो। ती एज्रा व्यवस्थाका शिक्षक थिए, जसले याहवेहले इस्राएललाई दिनुभएका आज्ञाहरू र आदेशहरूको विषयमा तिनले सिकेका थिए:
[12] राजाहरूका राजा अर्तसास्तको तर्फबाट, स्वर्गका परमेश्वरको व्यवस्थाका शिक्षक, पुजारी एज्रालाई: अभिवादन।
[13] अब म यो उर्दी जारी गर्दछु; मेरो राज्यमा भएका कुनै पनि इस्राएली, पुजारीहरू र लेवीहरूले तिमीसँग यरूशलेम जाने इच्छा गर्छन् भने तिनीहरू जान सक्छन्।
[14] तिमीलाई तिम्रो जिम्मामा रहेको तिम्रा परमेश्वरको व्यवस्थाअनुसार यहूदा र यरूशलेमको विषयमा पत्ता लगाउन भनी राजा र उनका सात जना सल्लाहकारहरूद्वारा पठाइएका छौ।
[15] यसबाहेक राजा र उनका सल्लाहकारहरूले यरूशलेममा वास गर्नुहुने इस्राएलका परमेश्वरलाई राजीखुशीले दिएको सुन र चाँदी तिमीले लिएर जानू।
[16] साथै बेबिलोनको प्रान्तबाट लैजान सक्ने सबै सुन र चाँदी, मानिसहरू र पुजारीले यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरका निम्ति चढाएका स्वेच्छा-भेटीहरू तिमीले लिएर जान सक्छौ।
[17] यस रकमले साँढेहरू, भेडाहरू, थुमाहरू यसकासाथै तिनीहरूका निम्ति अन्नबलिहरू, अर्घबलिहरू निश्चय नै किन्नू। अनि तिमीले यी वस्तुहरूलाई यरूशलेममा परमेश्वरको मन्दिरको वेदीमा बलि चढाउनू।
[18] बाँकी रहेका सुन र चाँदीले तिम्रो परमेश्वरको इच्छाअनुसार तिमी र तिम्रा यहूदी दाजुभाइहरू मिलेर जे असल लाग्छ, त्यही गर्न सक्छौ।
[19] तिम्रा परमेश्वरको मन्दिरमा सेवाका निम्ति तिमीलाई जिम्मा दिइएका सबै भाँडाहरू यरूशलेमका परमेश्वरलाई सुम्पिदिनू।
[20] अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिने कुनै पनि चीज खाँचो पर्यो भने त्यसको प्रबन्ध गर्ने जिम्मेवारी तिम्रो हो, त्यो तिमीले राजकीय कोषबाट लैजान सक्छौ।
[21] अब, म राजा अर्तसास्त, यूफ्रेटिस पारिका प्रान्तहरूका कोषाध्यक्षहरूलाई यो आदेश दिँदछु, स्वर्गका परमेश्वरको व्यवस्थाका शिक्षक र पुजारी एज्राले तिमीहरूसँग मागेका जुनसुकै कुरा पनि जुटाइदिनू।
[22] एक सय टालेन्ट चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ जैतुनको तेल, र चाहिए जति नुन पनि दिनू।
[23] स्वर्गका परमेश्वरले आज्ञा दिनुभएअनुसार सबै थोक इमानदारसाथ स्वर्गका परमेश्वरको मन्दिरका निम्ति गरियोस्, ताकि राजा र तिनका छोराहरूका राज्यमाथि उहाँको क्रोध आइनपरोस्।
[24] यसबाहेक तिमीहरूले यो कुरा पनि याद राख: पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अथवा परमेश्वरको भवनका सेवकहरू र अरू कर्मचारीहरूबाट कर, सलामी अथवा अरू कुनै पनि महसुलहरू उठाउने अधिकार तिमीहरूलाई छैन।
[25] अनि हे एज्रा, तिमीले पाएको तिम्रा परमेश्वरको बुद्धिअनुसार, यूफ्रेटिस पारिका सबै मानिसहरू जसले तिम्रा परमेश्वरको व्यवस्थालाई जान्दछन्, तिनीहरूमाथि न्याय गर्न शासकहरू र न्यायकर्ताहरू नियुक्त गर्नू; अनि जसले व्यवस्थाहरू जान्दैनन् तिनीहरूलाई तिमीले सिकाउनू।
[26] जसले तिम्रा परमेश्वरको व्यवस्था पालन गर्दैन र राजाको हुकुम मान्दैन, त्यसलाई मृत्युदण्ड वा देश निकाला वा त्यसको सम्पत्ति जफत गरियोस्, अथवा झ्यालखानाको सजाय दिइयोस्।
[27] हाम्रा पितापुर्खाहरूका परमेश्वर, याहवेहलाई महिमा होस्, जसले यरूशलेममा याहवेहको भवनको सम्मान ल्याउने विचार राजाको हृदयमा हालिदिनुभयो।
[28] अनि उहाँले राजा, उनका सल्लाहकारहरू र राजाका शक्तिशाली अधिकारीहरूका सामु, उहाँको अचुक कृपा ममाथि राखिदिनुभएको छ। याहवेह मेरा परमेश्वरको हात ममाथि भएको हुनाले मैले साहस गरेँ; अनि मसँग इस्राएलबाट यरूशलेममा जानलाई अगुवाहरू जम्मा गरेँ।