Skip to content
Opens in a new window
Listen to this chapter • 8:52

[1] राजा अर्तसास्तका शासनकालमा बेबिलोनबाट मसँग फर्केर आउने परिवारका अगुवाहरू र तिनीहरूसँगै दर्ता गरिएका मानिसहरू यिनै हुन्:

[2] पीनहासका सन्तानहरू: गेर्शोम; ईतामारका सन्तानहरू: दानिएल; दावीदका सन्तानहरू: हत्तूश

[3] शकन्याहका सन्तानहरू; परोशका सन्तानहरू: जकरिया र तिनीसित सूचीमा लेखिएका 150 पुरुषहरू;

[4] पहत-मोआबका सन्तानहरू: जरयाहका छोरा एल्यहोएनै र तिनीसित 200 पुरुषहरू;

[5] जत्तूका सन्तानहरू: यहजीएलका छोरा शकन्याह र तिनीसित 300 पुरुषहरू;

[6] आदीनका सन्तानहरू: जोनाथनका छोरा एबेद र तिनीसित 50 पुरुषहरू;

[7] एलामका सन्तानहरू: अतल्याहका छोरा यशयाह र तिनीसित 70 पुरुषहरू;

[8] शपत्याहका सन्तानहरू: मिखाएलका छोरा जबदियाह र तिनीसित 80 पुरुषहरू थिए;

[9] योआबका सन्तानहरू: यहीएलका छोरा ओबदिया र तिनीसित 218 पुरुषहरू;

[10] बानीका सन्तानहरू: योसिप्याहका छोरा शलोमीत र तिनीसित एक सय 60 पुरुषहरू;

[11] बेबैका सन्तानहरू: बेबैका छोरा जकरिया र तिनीसित 28 पुरुषहरू;

[12] अज्गादका सन्तानहरू: हक्‍कातानको छोरा योहानान र तिनीसित 110 पुरुषहरू;

[13] अदोनीकामका सन्तानहरू: अन्तिममा आएकाहरू, जसका नामहरू एलीपेलेत, यीएल र शमायाह; अनि तिनीहरूसित 60 पुरुषहरू;

[14] बिग्वैका सन्तानहरू: ऊत्तै, जक्‍कूर र तिनीहरूसित 70 पुरुषहरू।

[15] मैले तिनीहरूलाई अहावातिर बग्ने नहरको किनारमा भेला गरेँ; अनि हामी त्यहाँ छाउनीमा तीन दिनसम्म बस्यौँ। जब मैले मानिसहरू र पुजारीहरूको बीचमा निरीक्षण गरेँ, तब मैले त्यहाँ कुनै लेवीहरू भेट्टाइनँ।

[16] यसकारण मैले अगुवाहरू एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया र मशुल्‍लामलाई, साथै यहोयारीब र एल्नातान, जो विद्वान् थिए, तिनीहरूलाई बोलाइपठाएँ।

[17] अनि मैले तिनीहरूलाई कासिप्याका अगुवा इद्दोकहाँ जान हुकुम गरेँ। मैले तिनीहरूलाई कासिप्याको मन्दिरमा सेवा गर्ने इद्दो र तिनका सहकर्मीहरूलाई के भन्‍नुपर्ने हो, सो भनी पठाए, ताकि तिनीहरूले परमेश्‍वरको भवनको निम्ति सेवकहरू ल्याउन सकून्।

[18] हाम्रा परमेश्‍वरको कृपालु हात हामीमाथि रहेको हुनाले तिनीहरूले इस्राएलका छोरा लेवी, लेवीका छोरा महली, महलीका सन्तानबाट एक जना योग्य व्यक्ति शेरेबियाह, र शेरेबियाहका छोराहरू; अनि दाजुभाइहरू सबै गरेर 18 पुरुषहरू;

[19] अनि हशब्याहसित, मरारीका सन्तानहरूबाट यशयाह, तिनका दाजुभाइहरू र भतिजाहरू सबै गरेर 20 पुरुषहरूलाई हामीकहाँ ल्याए।

[20] दावीद र उनका अधिकारीहरूले नियुक्त गरेका लेवीहरूलाई सहयोग गर्ने 220 जना मन्दिरका सेवकहरूका झुण्डलाई पनि तिनीहरूले ल्याए। यिनीहरू सबैको नाम सूचीमा दर्ता गरिएको थियो।

[21] त्यहाँ अहावा नहरको किनारमा मैले उपवासको घोषणा गरेँ, ताकि हामीले आफूलाई परमेश्‍वरको सामु नम्र तुल्याउन सकौँ; अनि हाम्रा छोराछोरीहरू र हाम्रा सबै सम्पत्ति सहित हामी परमेश्‍वरसँग सुरक्षित यात्राको प्रार्थना गर्न सकौँ।

[22] हामीलाई बाटोमा शत्रुहरूदेखि रक्षा गर्न राजासँग सिपाहीहरू र घोडचढीहरू माग्न मलाई लाज लाग्यो; किनकि हामीले राजालाई भनेका थियौँ, “उहाँलाई खोज्ने हरेकमाथि हाम्रा परमेश्‍वरको अनुग्रही हात हुन्छ, तर उहाँलाई त्याग्नेहरूका विरुद्धमा उहाँको डरलाग्दो क्रोध पर्छ।”

[23] यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्‍वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।

[24] त्यसपछि मैले मुख्य पुजारीहरूमध्ये बाह्र जना र तिनीहरूसित शेरेबियाह, हशब्याह र तिनीहरूका दश जना दाजुभाइहरूलाई अलग गरेँ।

[25] अनि मैले परमेश्‍वरको भवनका निम्ति त्यहाँ उपस्थित भएका सारा इस्राएलीहरू, राजा र उनका सल्‍लाहकारहरू, साथै अधिकारीहरूले भेटीको रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू तिनीहरूलाई तौलेर दिएँ।

[26] मैले तिनीहरूलाई 650 टालेन्ट चाँदी, 100 टालेन्ट चाँदीका भाँडाहरू, 100 टालेन्ट सुन,

[27] 1,000 डारिक बराबरका सुनका 20 वटा कचौराहरू र सुनजस्तै मूल्यवान् दुई वटा चिल्‍ला तामाका भाँडाहरू पनि तौलेर दिएँ।

[28] मैले तिनीहरूलाई भनेँ, “तिमीहरूका साथै यी भाँडाहरू पनि याहवेहका निम्ति समर्पण गरिएका छन्। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरको निम्ति सुन र चाँदीहरू स्वेच्छा-भेटी हुन्।

[29] मुख्य पुजारीहरू र लेवीहरू, र इस्राएलका परिवारका अगुवाहरूका सामु यरूशलेममा याहवेहको भवनको कोठाहरूभित्र ती भाँडाहरू नतौलेसम्म तिमीहरूले होसियारीसाथ यसको रक्षा गर्नू।”

[30] त्यसपछि यरूशलेममा परमेश्‍वरको भवनमा लैजानलाई जोखिएका सुन र चाँदी, पवित्र भाँडाहरू सबै पुजारीहरू र लेवीहरूले ग्रहण गरे।

[31] पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जानलाई हामी अहावा नहरको किनारदेखि हिँड्यौँ। हाम्रा परमेश्‍वरको हात हामीमाथि थियो; अनि उहाँले हामीलाई बाटोमा शत्रुहरू र डाँकुहरूबाट बचाउनुभयो।

[32] यसरी हामी यरूशलेममा आइपुग्यौँ र त्यहाँ हामीले तीन दिन विश्राम गर्‍यौँ।

[33] चौथो दिनमा हाम्रा परमेश्‍वरको भवनमा उरियाहको छोरा मरेमोत पुजारीको हातमा सुन, चाँदी र पवित्र भाँडाहरू जोखेर सुम्पिदियौँ। मरेमोतसित पीनहासका छोरा पुजारी एलाजार, लेवीहरू येशूआका छोरा योजाबाद र बिन्‍नूईका छोरा नोअदिया पनि थिए।

[34] हरेक कुरा गनिएको र जोखेर हिसाब गरिएको थियो; अनि त्यसै बेला सबै थोकको तौलको सूची बनाइयो।

[35] त्यसपछि निर्वासनबाट फर्कने सारा निर्बासितहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए: बाह्र वटा साँढेहरू, छयानब्बे भेडाहरू, सतहत्तर थुमाहरू होमबलिको निम्ति बलि चढाए। अनि यसबाहेक पापबलिको निम्ति बाह्र वटा बोकाहरू बलि चढाए। यी सबै याहवेहका निम्ति होमबलि थियो।

[36] तिनीहरूले राजकीय शासकहरू र यूफ्रेटिस पारिका राज्यपालहरूलाई राजाका आदेशहरू पनि दिए। त्यसपछि तिनीहरूले मानिसहरू र परमेश्‍वरको भवनलाई सहायता गरे।

एज्रा — Chapters