[1] हाम्रा उद्धारकर्ता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञाअनुसार ख्रीष्ट येशूको प्रेरित पावलबाट,
[2] विश्वासमा मेरो साँचो छोरा तिमोथीलाई: परमेश्वर पिता र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह, कृपा र शान्ति!
[3] म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ, तिमी एफिससमै बस; अनि ती मानिसहरू, जसले झूटा सिद्धान्तहरू सिकाइरहेका छन् अबदेखि नसिकाउनू भनी आज्ञा देऊ।
[4] तिनीहरूले आफ्ना ध्यान दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूप्रति नदेऊन्। यस्ता कुराहरूले विश्वासद्वारा हुने परमेश्वरको कामभन्दा शङ्का-उपशङ्कालाई बढावा दिन्छ।
[5] यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ।
[6] कति जना यी सबैबाट तर्किगएर अर्थविनाका कुराहरूतिर लागेका छन्।
[7] तिनीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन्; तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्।
[8] हामी जान्दछौँ, कसैले व्यवस्थालाई ठिकसित प्रयोग गर्छ भने यो असल छ।
[9] हामी यो पनि जान्दछौँ, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उल्लङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति,
[10] अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति हो। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो।
[11] अनि मलाई सुम्पिएको सत्य सिद्धान्त परमधन्य परमेश्वरको महिमित सुसमाचारअनुसार छ।
[12] म हाम्रा प्रभु ख्रीष्ट येशूलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्वासयोग्य ठान्नुभयो र उहाँको सेवामा नियुक्त गर्नुभयो।
[13] यद्यपि विगतमा म ईश्वरनिन्दक, खेदो गर्ने र हिंसा गर्ने व्यक्ति थिएँ। ममाथि कृपा गरियो; किनकि मैले ती अज्ञानता र अविश्वासमा गरेको थिएँ।
[14] ख्रीष्ट येशूमा भएका विश्वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो।
[15] यो भनाइ विश्वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। ती पापीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ।
[16] उहाँमाथि विश्वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो।
[17] अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन।
[18] हे मेरो छोरा तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु। तिम्रो विषयमा एकपल्ट बोलिएका ती अगमवाणीअनुसार चलेर असल युद्ध लड्न सक।
[19] विश्वास र असल विवेक समातिराख। कतिले यी कुराहरू त्यागेर आफ्ना विश्वासको जहाज डुबाएका छन्।
[20] तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जसलाई ईश्वरनिन्दा नगर्न सिकून् भनेर मैले शैतानको हातमा सुम्पेको छु।