[1] पवित्र आत्माले प्रष्ट गरी भन्नुहुन्छ: पछि आउने दिनहरूमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू र भूतप्रेतहरूका शिक्षाको पछि लाग्नेछन्।
[2] यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्तिहरूद्वारा आउनेछन्, जसको विवेक तातो फलामले डामेझैँ हुन्छ।
[3] तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाही गर्छन् र केही भोजनहरूबाट अलग रहनू भन्ने आदेश दिन्छन्। जुन भोजन विश्वास गर्नेहरू र सत्यता जान्नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्वरले सृष्टि गर्नुभयो।
[4] किनकि परमेश्वरले सृष्टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन।
[5] किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ।
[6] यदि तिमीले यी कुराहरू दाजुभाइ-दिदीबहिनीहरूलाई देखाइदियौ भने तिमी विश्वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पछ्याउने ख्रीष्ट येशूका असल सेवक हुनेछौ।
[7] भक्तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बस। बरु आफूलाई भक्तिको मानिस हुने तालिम देऊ।
[8] किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ।
[9] यो भनाइ विश्वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ।
[10] हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण यो हो, हाम्रो आफ्नो आशा जीवित परमेश्वरमाथि राखेका छौँ; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।
[11] यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ।
[12] तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्वासमा र शुद्धतामा विश्वासीहरूको लागि उदाहरण बन।
[13] म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ।
[14] मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा, अगमवाणीद्वारा तिमीलाई प्राप्त भएको वरदानको अवहेलना नगर।
[15] यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्।
[16] आफ्नो जीवन र शिक्षाको बारेमा राम्ररी ध्यान देऊ। यी कुराहरूमा खुरन्धार लागिरह; किनकि यसो गर्नाले तिमीले आफैँलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।