Skip to content
Opens in a new window
Listen to this chapter • 2:55

[1] अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रो लागि प्रार्थना गरिदेओ; यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैँ सबैतिर महिमित भएको होस्।

[2] सबै जनासँग विश्‍वास हुँदैन; त्यसकारण हामी दुष्‍ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ।

[3] तर प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ।

[4] हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्‍चित छौँ।

[5] प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतामा डोर्‍याऊन्।

[6] हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्‍टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्‍वासी अल्छे छ र बाधा पुर्‍याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्‍वासीबाट अलग बस।

[7] किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ,

[8] न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्‍यौँ।

[9] हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ।

[10] किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।”

[11] तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्‍याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्।

[12] यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्‍टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्।

[13] अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक।

[14] यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्।

[15] तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्‍वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ।

[16] अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।

[17] म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु।

[18] हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्!

2 थेसलोनिकी — Chapters