Skip to content
Opens in a new window
Listen to this chapter • 2:04

[1] यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्।

[2] हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्‍च पदमा रहेकाहरूका निम्ति चढाइऊन्।

[3] यो असल हो र हाम्रा मुक्तिदाता परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ।

[4] उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ।

[5] किनकि परमेश्‍वर एउटै हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानव ख्रीष्‍ट येशू,

[6] जसले सबैका छुटकाराको मोलको निम्ति आफैँलाई सुम्पिदिनुभयो, जुन कुराको साक्षी ठिक समयमा दिइयो।

[7] अनि यही उद्देश्यले म एउटा प्रचारक र प्रेरित नियुक्त भएँ। म सत्य बोल्दछु र झूट बोल्दिनँ; गैरयहूदीहरूलाई विश्‍वास र सत्यताको शिक्षा दिनको निम्ति नियुक्त गरिएको छु।

[8] यसकारण सबै ठाउँमा विनाक्रोध र विनाविवाद प्रार्थनामा पुरुषहरूले पवित्र हातहरू उठाऊन् भन्‍ने म चाहन्छु।

[9] त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्‍टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन।

[10] तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्‍वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ।

[11] स्त्रीले पूर्ण अधीनमा बसेर चुपचापसित सिकोस्।

[12] स्त्रीले पुरुषलाई सिकाउने वा अधिकार गर्ने अनुमति म दिन्‍नँ; तर ऊ चुपचाप नै रहोस्।

[13] किनकि पहिला आदम बनाइएका थिए, त्यसपछि हव्वा।

[14] आदम छलिएका होइनन्, तर स्त्री पो बहकाउमा परेर आज्ञा भङ्ग गरेकी हुन्।

[15] यदि विश्‍वास, प्रेम र भद्रतापूर्ण पवित्रतामा लागिरहिन् भने स्त्रीहरू बालक जन्मद्वारा बचाइनेछन्।

1 तिमोथी — Chapters