[1] अब दाजुभाइ-दिदीबहिनीहरू हो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन।
[2] किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ।
[3] जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।
[4] तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्।
[5] तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ।
[6] यसकारण हामी अरूजस्ता नहौँ, जो सुतेका छन्, तर सचेत र आत्मसंयमी बनौँ।
[7] किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्।
[8] तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ।
[9] किनकि परमेश्वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई नियुक्त गर्नुभएको हो।
[10] उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागौँ वा सुतौँ, हामी उहाँसितै जिउन सकौँ।
[11] यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
[12] अब दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर।
[13] अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर देओ। एक-आपससँग मेलमिलापमा बस।
[14] दाजुभाइ-दिदीबहिनीहरू हो, हामी तिमीहरूलाई आग्रह गर्दछौँ, अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ; अनि कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ।
[15] यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर।
[16] सधैँ आनन्दित रहो।
[17] निरन्तर प्रार्थना गरिरहो।
[18] हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।
[19] पवित्र आत्मालाई ननिभाओ।
[20] अगमवाणीलाई तुच्छ नठान।
[21] हरेक कुरालाई जाँच गर; जे कुरा असल छ, त्यसलाई पक्रिराख।
[22] हरेक किसिमका दुष्टतालाई इन्कार गर।
[23] तिमीहरूलाई शान्तिका परमेश्वर आफैँले सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क रहून्।
[24] तिमीहरूलाई बोलाउनुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ।
[25] दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा निम्ति प्रार्थना गरिदेओ।
[26] परमेश्वरका सबै जनहरूलाई ख्रीष्टिय प्रेमसाथ अभिवादन गर।
[27] यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाममा म तिमीहरूलाई आग्रह गर्दछु।
[28] हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्!