[1] पावल, सिलास र तिमोथीबाट, परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई: अनुग्रह र शान्ति!
[2] हाम्रा प्रार्थनाहरूमा निरन्तर याद गर्दै तिमीहरू सबैका लागि हामी सधैँ परमेश्वरलाई धन्यवाद चढाउँछौँ;
[3] हाम्रा परमेश्वर र पिताको सामु तिमीहरूको विश्वासद्वारा उत्पन्न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौँ।
[4] दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्नुभएको हो भनी हामी जान्दछौँ।
[5] किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ।
[6] तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्यौ।
[7] यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका लागि नमुना बनेका छौ।
[8] तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्वरप्रति भएको तिमीहरूको विश्वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्नु आवश्यक छैन।
[9] किनकि तिमीहरूले हामीलाई कसरी स्वागत गर्यौ; अनि कसरी तिमीहरूले मूर्तिहरूलाई छोडेर जिउँदो र सत्य परमेश्वरको सेवा गर्न फर्क्यौ, सो कुरा तिनीहरू आफैँले बताउँछन्।
[10] अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ।