Skip to content
Opens in a new window
Listen to this chapter • 2:24

[1] पावल, सिलास र तिमोथीबाट, हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई:

[2] परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

[3] हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद दिनैपर्छ।

[4] यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्‍वासको निम्ति परमेश्‍वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौँ।

[5] यो सबै परमेश्‍वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्‍ट भोगिरहेका छौ।

[6] परमेश्‍वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ।

[7] अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।

[8] उहाँले परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई सजाय दिनुहुनेछ।

[9] तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्।

[10] यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्‍वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूले हाम्रा गवाहीलाई विश्‍वास गर्‍यो।

[11] यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्‍वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्।

[12] हामी प्रार्थना गर्दर्छौँ, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाम महिमित होस्, र उहाँमा तिमीहरूको महिमा होस्।

2 थेसलोनिकी — Chapters