[1] दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ।
[2] तिमीहरूलाई थाहै छ, फिलिप्पीमा हामीले कष्ट भोगेर अपमानित हुनुपरेको थियो; तर परमेश्वरको सहायताले घोर विरोध भए तापनि हामीले साहससाथ तिमीहरूलाई सुसमाचार प्रचार गर्यौँ।
[3] किनकि हाम्रो अर्ती-उपदेश छल वा अशुद्ध विचारबाट उब्जिएको होइन, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौँ।
[4] तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैँ हामी बोल्दछौँ। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौँ।
[5] तिमीहरूलाई थाहै छ, हामीले कहिल्यै चापलुसी गरेनौँ। परमेश्वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौँ।
[6] न त हामीले मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्यौँ। त्यसो त हामी ख्रीष्टका प्रेरितहरू भएका कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौँ।
[7] तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ।
[8] यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्यौँ; यसैले तिमीहरूसँग परमेश्वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ।
[9] किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्यौँ, यो कुरा निश्चय नै तिमीहरूलाई थाहा छ।
[10] तिमीहरू र परमेश्वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो।
[11] किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैँ हामीले तिमीहरूसँग व्यवहार गर्यौँ;
[12] ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
[13] अनि यस कुराको निम्ति पनि हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौँ; किनकि तिमीहरूले हामीबाट सुनेका परमेश्वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्वरकै वचनको रूपमा स्वीकार गर्यौ; जुनचाहिँ वास्तवमा नै परमेश्वरको वचन हो, र यस वचनले तिमी विश्वास गर्नेहरूमा काम पनि गरिरहेको छ।
[14] किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्ट भोगेका थिए।
[15] ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्वरलाई अप्रसन्न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्।
[16] गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैँ आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।
[17] तर दाजुभाइ-दिदीबहिनीहरू हो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौँ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्यौँ।
[18] हामी तिमीहरूकहाँ आउन खोजेका थियौँ। म पावल, आफैँले अनेक पटक प्रयास गरेँ, तर शैतानले हामीलाई बाधा गर्यो।
[19] किनकि हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र?
[20] निश्चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ।