Skip to content
Opens in a new window
Listen to this chapter • 3:07

[1] हे मालिकहरू हो, आफ्ना सेवकहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर; किनकि तिमीहरू जान्दछौ स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ।

[2] सतर्क भएर धन्यवादसाथ आफूलाई प्रार्थनामा अर्पण गर।

[3] अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्‍वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्‍टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु।

[4] जसरी मैले स्पष्‍टसँग घोषणा गर्नुपर्ने हो, त्यसरी नै म घोषणा गर्न सकूँ भनेर प्रार्थना गर;

[5] बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर।

[6] तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्‍न सक।

[7] तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्‍वासयोग्य सेवक र सङ्गी-सेवक हुन्।

[8] मैले तिनलाई यस उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि तिमीहरूले हाम्रो परिस्थितिहरूबारे जान्‍न सक र तिनले तिमीहरूको हृदयलाई उत्साहित गराऊन्।

[9] तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरूमध्येका एक हुन्, र जो हाम्रा विश्‍वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्।

[10] मेरा सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।)

[11] युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। परमेश्‍वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदीहरूबाट यिनीहरू मात्र हुन्, र यिनीहरू मेरो लागि ठूलो सहयोग भएका छन्।

[12] तिमीहरूमध्येका एक जना र ख्रीष्‍ट येशूका सेवक इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरूका निम्ति तिनले जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन्, ताकि तिमीहरू सम्पूर्ण रूपले निश्‍चित र परिपक्व भई परमेश्‍वरको सारा इच्छामा स्थिर भई लागिरहन सक।

[13] म तिनको निम्ति साक्षी दिन्छु: तिनले तिमीहरूका निम्ति, लाउडिकियामा र हिरापोलिसमा हुनेहरूका निम्ति कठोर परिश्रम गरिरहेका छन्।

[14] हाम्रा प्रिय मित्र वैद्य लूका र डेमासले पनि अभिवादन पठाएका छन्।

[15] लाउडिकियामा भएका मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई, निम्फा र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन भनिदेओ।

[16] तिमीहरूलाई यो पत्र पढेर सुनाइसकेपछि यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ।

[17] अर्खिप्पसलाई भन, “तिमीले प्रभुबाट पाएको काम होसियारीसाथ पूरा गर।”

[18] म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरा साङ्लाहरूको सम्झना गर। तिमीहरूसँग अनुग्रह रहोस्!

कलस्सी — Chapters