Skip to content
Opens in a new window
Listen to this chapter • 3:05

[1] स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।

[2] हेर ! म पावल तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्‍टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।

[3] फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्‍छु, कि सबै व्यवस्था पालन गर्न त्‍यो बाध्‍य हुन्‍छ ।

[4] जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।

[5] किनकि आत्माद्वारा विश्‍वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।

[6] ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्‍छ । केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्‍छ ।

[7] तिमीहरू असल रूपमा दौडिरहेका थियौ । सत्‍यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो ?

[8] यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन ।

[9] थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ ।

[10] प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्‍यसले आफ्नो दण्ड पाउनेछ ।

[11] मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु ? त्‍यसो हो भनेता क्रुसको बाधा नष्‍ट हुने थियो ।

[12] तिमीहरूलाई बहकाउनेहरूले त आफैँलाई नपुङ्सक तुल्याओस् ।

[13] किनकि मेरा भाइहरू हो, परमेश्‍वरले तिमीहरूलाई स्वतन्‍त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्‍त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्‍याओ ।

[14] किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्‍छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्‍तै प्रेम गर्नुपर्छ ।”

[15] तर यदि तिमीहरूले एक अर्कालाई टोक्‍ने र निल्ने गर्छौ भने, ध्‍यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्‍ट हुन नपरोस् ।

[16] म भन्‍दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।

[17] किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्‍छन्, र आत्माको इच्‍छा शरीरको विरुद्धमा हुन्‍छ । किनकि यी एक अर्काका विपरीत हुन्‍छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।

[18] तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्‍छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।

[19] शरीरका कामहरू प्रत्‍यक्ष देख्‍न सकिने हुन्‍छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना,

[20] मूर्तिपूजा, तन्‍त्रमन्‍त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्‍दी,

[21] डाह, पियक्‍कडपन, मोजमज्‍जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्‍छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्‍वरको राज्‍यका हकदार हुनेछैनन् ।

[22] तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वास,

[23] नम्रता र संयम हुन् । यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन ।

[24] तिनीहरू जो ख्रीष्‍ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्‍यसका लालसा र दुष्‍ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्‍छन् ।

[25] यदि हामी आत्माद्वारा जिउँछौँ भने, हामी आत्माद्वारा नै हिँडौँ ।

[26] हामी अहंकारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।

गलातीहरूलाई पावलको पत्र — Chapters