Skip to content
Opens in a new window
Listen to this chapter • 3:10

[1] म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्‍तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।

[2] मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।

[3] परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति होस्,

[4] जसले हाम्रा परमेश्‍वर र पिताको इच्‍छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।

[5] उहाँलाई नै सदासर्वदा महिमा होस् ।

[6] तिमीहरू यति छिटै फरक सन्‍देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु ।

[7] अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्‍छन् ।

[8] तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्‍यो भन्‍दा बाहेक अरू कुनै सन्‍देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्‍यो श्रापित होस् ।

[9] हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्‍दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्‍दा बाहेक तिमीहरूका सामु अर्को सन्‍देशको घोषणा गर्दछ भने, त्‍यो श्रापित होस् ।”

[10] के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र ? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र ? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ ।

[11] भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्‍छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।

[12] मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।

[13] म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्‍यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।

[14] म यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरू भन्‍दा धेरै अगि बढिरहेको थिएँ । मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति म अत्‍यन्‍तै उत्साहित थिएँ ।

[15] तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो ।

[16] मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्‍तै शरीर र रगतको सल्लाह लिइनँ,

[17] र म भन्‍दा अगि प्रेरित भएकाहरूकहाँ म यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्‍यसपछि दमस्कसमा फर्किएँ ।

[18] अनि तिन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्‍यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ ।

[19] तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ ।

[20] हेर, मैले जे लेखेको छु, परमेश्‍वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन ।

[21] त्‍यसपछि म सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ ।

[22] ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूमा म अझैसम्म चिनिएको थिइनँ,

[23] तर उनीहरूले सुनेका थिएँ, “एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्‍यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए ।”

[24] मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरिरहेका थिए ।

गलातीहरूलाई पावलको पत्र — Chapters