Skip to content
Opens in a new window
Listen to this chapter • 4:14

[1] हे मूर्ख गलातीहरू ! कसको दुष्‍ट आँखाले तिमीहरूलाई नोक्सानी गर्‍यो ? के तिमीहरूका आँखाको अगाडि येशू ख्रीष्‍ट क्रुसमा टाँगिनुभएको कुरा दर्शाइएको थिएन र ?

[2] म तिमीहरूबाट यो कुरा मात्र बुझ्‍न चाहन्‍छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्‍वास गरेर पाएका हौ ?

[3] के तिमीहरू यति धेरै मूर्ख भएका छौ ? के अब केवल शरीरमा अन्‍त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ ?

[4] यदि त्‍यो साँच्‍चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्‍यौ त ?

[5] त्‍यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्‍छ र तिमीहरूका बीचमा शक्‍तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्‍छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्‍वास गरेर सुनेका कारणले ?

[6] अब्राहामले “परमेश्‍वरलाई विश्‍वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।”

[7] त्‍यसो भए, यसै गरी यो बुझ, कि विश्‍वास गर्नेहरू नै अब्राहामका सन्‍तान हुन् ।

[8] धर्मशास्‍त्रले पहिले नै यो देखेको थियो, कि परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ । अब्राहामलाई अगाडि नै सुसमाचार दिइएको थियो, “तँबाट नै पृथ्वीमा हुने सबै जातिहरू आशिषित हुनेछन् ।”

[9] त्‍यसैकारण, जोसँग विश्‍वास छ, तिनीहरू अब्राहामसँगै आशिषित हुन्‍छन्, तिनै अब्राहाम जससँग पनि विश्‍वास थियो ।

[10] व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्‍छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्‍छन् ।”

[11] अब यो स्पष्‍ट छ, कि परमेश्‍वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्‍न, किनकि “धर्मी मानिस विश्‍वासद्वारा नै जिउनेछ ।”

[12] व्यवस्था विश्‍वासबाट आएको होइन, तर त्‍यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्‍यो व्यवस्थाअनुसार नै जिउनेछ ।”

[13] हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्‍छ ।”

[14] यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौँ ।

[15] भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्‍का भइसकेको मानिसले बनाएको इच्‍छा-पत्र त न कसैले रद्द गर्छ न त त्‍यसमा केही थपिन्‍छ ।

[16] अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्‍तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्‍तानहरूलाई” भन्‍दैन, तर यसको सट्टामा “तिम्रो सन्‍तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्‍ट हुनुहुन्‍छ ।

[17] अब म यो भन्‍दछु । परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।

[18] किनकि उत्तराधिकार व्‍यवस्थाद्वारा आएको हो भने, यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन । तर परमेश्‍वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो ।

[19] त्‍यसो भए व्यवस्था किन दिइयो त ? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्‍तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्‍यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो ।

[20] अहिले मध्‍यस्तकर्ताले एक भन्‍दा बढी व्यक्‍तिलाई बुझाउँछ, तापनि परमेश्‍वर एउटै हुनुहुन्‍छ ।

[21] त्‍यसो भए, के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त ? कदापि होइन ! किनकि यदि जीवन दिन सक्‍ने व्यवस्था दिइएको भए, निश्‍चय नै त्‍यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।

[22] तर त्‍यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्‍त्रले कैदमा राख्यो । परमेश्‍वरले यो गर्नुभयो ताकि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्‍वास गर्नेहरूलाई दिन सकियोस् ।

[23] तर ख्रीष्‍टमा विश्‍वास आउनु भन्‍दा अगाडि विश्‍वासको प्रकाश नआउन्जेलसम्म हामी व्यवस्थाद्वारा कैदमा थियौँ र सीमित थियौँ ।

[24] त्‍यसकारण, हामी विश्‍वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रीष्‍ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्‍यो ।

[25] अब विश्‍वास आइसकेकोले हामी कुनै संरक्षकको अधीनमा छैनौँ ।

[26] किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ ।

[27] तिमीहरूमध्‍ये सबै जतिको ख्रीष्‍ट येशूमा बप्‍तिस्मा भयो, तिमीहरू आफैँले ख्रीष्‍टलाई पहिरिएका छौ ।

[28] अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्‍का, न पुरुष छ न स्‍त्री, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एक हौ ।

[29] यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्‍तानहरू हौ र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।

गलातीहरूलाई पावलको पत्र — Chapters