[1] छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।
[2] “आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।
[3] “ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्न सक ।”
[4] र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।
[5] दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन ।
[6] आफ्ना मालिकले देख्ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्वरको इच्छालाई पूरा गर ।
[7] मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर ।
[8] तिमीहरूले यो जान, कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ, चाहे त्यो मानिस दास होस् वा मुक्त होस् ।
[9] र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्ने कुरा जान ।
[10] अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्यको शक्तिमा बलियो होओ ।
[11] परमेश्वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक ।
[12] किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्टात्माहरूको विरूद्धमा हो ।
[13] यसकारण परमेश्वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्ट समयमा दुष्टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ ।
[14] यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर ।
[15] आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर ।
[16] सबै परिस्थितिहरूमा विश्वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्टका सबै अग्निवाणहरू निभाउन सक्नेछौ ।
[17] र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्वरको वचन हो ।
[18] सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्नसाथ यही मन सँगै सतर्क भइराख ।
[19] र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ ।
[20] सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ ।
[21] तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् ।
[22] मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।
[23] परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् ।
[24] कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।