Skip to content
Opens in a new window
Listen to this chapter • 4:22

[1] यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्‍यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु ।

[2] ज्‍यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।

[3] आत्माको एकतालाई शान्‍तिको बन्धनमा राख्‍नलाई उत्कृष्‍ट तरिकाले प्रयत्‍न गर ।

[4] शरीर एउटै छ र आत्मापनि एउटै हुनुहुन्‍छ, जसरी तिमीहरू पनि एउटै निश्‍चित आशामा बोलाइएका थियौ ।

[5] प्रभु एउटै हुनुहुन्‍छ, विश्‍वास एउटै हो, र बप्‍तिसमा पनि,

[6] र सबैका पिता, परमेश्‍वर पनि एउटै हुनुहुन्‍छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्‍छ ।

[7] हामी हरेकलाई ख्रीष्‍टको वरदानको नापअनुसार वरदान दिइएको छ ।

[8] जसरी धर्मशास्‍त्रले भन्‍दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”

[9] “उहाँ उच्‍च स्थानमा जानुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो ?

[10] उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरू भन्‍दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।

[11] ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।

[12] ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।

[13] विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्‍छ । ख्रीष्‍टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्‍छ ।

[14] हामी अब बालकहरू जस्‍तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।

[15] बरु हामी प्रेममा सत्‍य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ ।

[16] ख्रीष्‍टले विश्‍वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्‍छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्‍यो हरेक सहयोगी तन्‍तुहरूद्वारा सँगै गाँसिएको हुन्‍छ ।

[17] त्‍यसैले म तिमीहरूलाई भन्‍दछु र प्रभुमा उत्साह दिन्‍छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।

[18] तिनीहरू विचारमा अन्धा भएका छन् । तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन् ।

[19] तिनीहरूमा शर्म छैन । अशुद्ध कुराहरूमाथि कामुकता र हर किसिमका लालचमा तिनीहरूले आफैँलाई सुम्पिदिएका छन् ।

[20] तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ ।

[21] तिमीहरूले येशूको बारेमा सुनेका छौ भनी म ठान्‍दछु । ख्रीष्‍टमा नै सत्‍यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका छौ भनी म ठान्‍दछु ।

[22] तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्‍याग्‍नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्‍ट भइरहेका छौ ।

[23] तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्‍याग ।

[24] परमेश्‍वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्‍यताको पवित्रतामा सृजना गरिएको हो ।

[25] त्‍यसैले असत्‍यतालाई त्‍याग । “सबैले आफ्नो छिमेकीसँग सत्‍य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ ।

[26] “रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ ।

[27] दुष्‍टलाई मौका नदेओ ।

[28] चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् ।

[29] तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।

[30] र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ ।

[31] सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्‍टता तिमीहरूले त्‍याग्‍नुपर्छ ।

[32] एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्‍यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।

एफिसिहरूलाई पावलको पत्र — Chapters