Skip to content
Opens in a new window
Listen to this chapter • 4:34

[1] ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।

[2] परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति ।

[3] हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु ।

[4] तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु ।

[5] पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्‍यवाद दिन्‍छु ।

[6] म यो कुरामा निश्‍चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्‍टको दिनसम्म यसलाई पुरा गर्न निरन्‍तरता दिनुहुनेछ ।

[7] तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।

[8] किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ ।

[9] र मैले यस्तो भन्‍दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।

[10] म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

[11] यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।

[12] भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्‍छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।

[13] किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ ।

[14] र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।

[15] कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्‌भावले पनि ख्रीष्‍टको प्रचार गरेका छन् ।

[16] प्रेमले ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जान्‍दछन् ।

[17] तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।

[18] त्‍यसो भए के त ? चाहे बहानामा होस् वा सत्‍यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्‍छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।

[19] किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।

[20] मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्‍तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्‍युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु ।

[21] किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।

[22] तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन ।

[23] किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बीचमा परेको छु । म बिदा भएर ख्रीष्‍टसँग हुने इच्‍छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।

[24] तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ ।

[25] यस कुरामा म निश्‍चित भएको कारणले म जान्‍दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्‍दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्‍तरता दिनेछु ।

[26] परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।

[27] ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ । सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ ।

[28] र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो ।

[29] किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि ।

[30] किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्‍दछौ, त्‍यही सङ्‌घर्ष तिमीहरूसँग छ ।

फिलिप्‍पीहरूलाई पावलको पत्र — Chapters