Skip to content
Opens in a new window
Listen to this chapter • 5:09

[1] परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,

[2] कलस्सेमा भएका परमेश्‍वरका पवित्र जनहरूलाई, जो ख्रीष्‍टमा विश्‍वासयोग्य दाजुभाइ-दिदीबहिनीहरू हुन्: हाम्रा पिता परमेश्‍वरबाट अनुग्रह र शान्ति!

[3] हामी तिमीहरूको निम्ति जब प्रार्थना गर्छौँ, हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछौँ।

[4] किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास र परमेश्‍वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ।

[5] त्यो विश्‍वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ।

[6] जसरी सुसमाचार संसारभरि फैलिएको छ, त्यसरी नै तिमीहरूमा आएको छ। तिमीहरूले यो सुसमाचार जुन दिनदेखि सुन्यौ र साँचो रूपमा परमेश्‍वरको अनुग्रहलाई बुझ्यौ, यसले तिमीहरूमा फल फलाइरहेको छ; र वृद्धि भइरहेको छ।

[7] तिमीहरूले जुन सुसमाचार इपाफ्रासबाट सिकेका छौ; तिनी हाम्रा प्रिय सहकर्मी हुन्, जो हाम्रा तर्फबाट ख्रीष्‍टका विश्‍वासयोग्य सेवक हुन्।

[8] तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा पनि हामीलाई बताएका छन्।

[9] यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौँ। हामी निरन्तर बिन्ती गरिरहेका छौँ, कि परमेश्‍वरले तिमीहरूलाई आत्माले दिइने समझशक्ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्,

[10] ताकि तिमीहरू प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्‍न पार्न, हरेक असल कामको फल फलाउन परमेश्‍वरको ज्ञानमा बढ्दै जाओ।

[11] तिमीहरू उहाँको महिमित शक्तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्।

[12] ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागीको योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ।

[13] किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो,

[14] जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ।

[15] ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ।

[16] किनकि उहाँमा नै सबै थोकहरू सृष्‍टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि गरिएका हुन्।

[17] उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्।

[18] उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्‍ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्‍ठ हुनुहुन्छ।

[19] किनकि उहाँको सारा परिपूर्णता ख्रीष्‍टमा बास भएकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो।

[20] अनि उहाँद्वारा परमेश्‍वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्‍टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।

[21] विगतमा तिमीहरू आफ्नो दुष्‍ट चालको कारण परमेश्‍वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ।

[22] तर अब तिमीहरूलाई उहाँको दृष्‍टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ।

[23] यदि तिमीहरू आफ्नो विश्‍वासमा अटल र स्थिर भई रह्‍यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु।

[24] अब तिमीहरूका निम्ति कष्‍ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्‍टका कष्‍टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु।

[25] परमेश्‍वरले मलाई तिमीहरूकहाँ सम्पूर्ण रूपमा वचन प्रस्तुत गर्न भनेर, उहाँको आज्ञाअनुसार म त्यस मण्डलीको सेवक बनाइएको छु—

[26] अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्‍त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ।

[27] यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको छ।

[28] ख्रीष्‍टलाई नै हामी घोषणा गर्दछौँ, सारा बुद्धिसाथ हरेकलाई सल्‍लाह र शिक्षा दिन्छौँ, ताकि हामीले हरेकलाई ख्रीष्‍टमा परिपक्व प्रस्तुत गराउन सकौँ।

[29] यसैको लागि ममा काम गर्ने ख्रीष्‍टको शक्तिशाली सामर्थ्यमा भर पर्दै, म काम गर्दछु र कडा सङ्घर्ष गर्दछु।

कलस्सी — Chapters