Skip to content
Opens in a new window
Listen to this chapter • 3:34

[1] परमेश्‍वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्‍ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु:

[2] वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ।

[3] किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्‍न चाहेका कुराहरू भन्‍नेछन्।

[4] तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्।

[5] तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्‍ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर।

[6] किनकि म अर्घबलिझैँ चढाइन लागेको छु, र मेरो बिदाको बेला आइसकेको छ।

[7] मैले उत्तम लडाइँ लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु, र मैले विश्‍वासलाई जोगाइराखेको छु।

[8] अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ।

[9] मकहाँ चाँडै आउने भरमग्दूर प्रयत्न गर;

[10] किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्।

[11] अहिले लूका मात्र मसँग छन्। मर्कूसलाई भेट र तिमीसँगै लिएर आऊ; किनकि तिनी मेरो सेवाको निम्ति मलाई उपयोगी छन्।

[12] मैले तुखिकसलाई एफिससमा पठाएँ।

[13] तिमी आउँदा त्रोआसमा मैले कार्पससित छाडेका खास्टो र पुस्तकहरू खासगरी चर्मपत्रहरू लिएर आऊ।

[14] तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै हानि पुर्‍याएको छ। त्यसले गरेको कामको बदला परमेश्‍वरले नै लिनुहुनेछ।

[15] त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस।

[16] जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्।

[17] तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्‍न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो।

[18] प्रभुले मलाई हरेक दुष्‍ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।

[19] प्रिस्किला, अक्विला अनि ओनेसिफरसको परिवारलाई अभिवादन भनिदेऊ।

[20] इरास्तस कोरिन्थमा नै बसे; अनि मैले त्रोफिमसलाई मिलेटसमा बिरामी अवस्थामा नै छोडेँ।

[21] हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर। युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्।

[22] प्रभु तिम्रो आत्मासँग रहून्! तिमीहरूसँग अनुग्रह रहोस्!

2 तिमोथी — Chapters