[1] तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्।
[2] मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्ने, बैगुनी, अपवित्र,
[3] प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने,
[4] विश्वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्वरलाई भन्दा सुख-विलासलाई रुचाउने,
[5] भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
[6] यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्।
[7] यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्।
[8] जसरी यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्ट भएको हुन्छ, र विश्वासमा साँचो हुँदैनन्।
[9] तर यान्नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।
[10] तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्वास, धीरज, प्रेम, सहनशीलता,
[11] सतावटहरू, कष्टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो।
[12] वास्तवमा हरेक जसले ख्रीष्ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ।
[13] तर दुष्ट मानिसहरू, ठगाहाहरू, ठग्दै र ठगिँदै झन्-झन् खराब हुँदै जानेछन्।
[14] तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्।
[15] तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा पाइने मुक्तिमा डोर्याउने ज्ञान दिन सक्षम् छ।
[16] सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।
[17] जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।