[1] यसकारण तिमी, मेरो छोरा, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।
[2] मबाट तिमीले धेरै साक्षीहरूका उपस्थितिमा सुनेका शिक्षाहरू यस्ता विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूहरूलाई पनि सिकाउन सक्ने योग्यका छन्।
[3] ख्रीष्ट येशूका असल सिपाहीझैँ मसँग कष्ट भोग।
[4] सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्न पार्न चाहन्छ।
[5] यसै गरी खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन।
[6] परिश्रम गर्ने किसानले नै पहिला अन्नको हिस्सा पाउनुपर्छ।
[7] मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।
[8] मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो।
[9] यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्ट भोगिरहेछु; तर परमेश्वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन।
[10] यसकारण परमेश्वरले चुन्नुभएका मानिसहरूका निम्ति ख्रीष्ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु।
[11] यो भनाइ विश्वासयोग्य छ: यदि हामी उहाँसित मर्यौँ भने, हामी उहाँसित जिउने पनि छौँ;
[12] यदि हामीले सह्यौँ भने, हामी उहाँसित राज्य पनि गर्नेछौँ। यदि हामीले उहाँलाई त्याग्यौँ भने, उहाँले पनि हामीलाई त्याग्नुहुनेछ;
[13] यदि हामी विश्वासरहित छौँ भने तापनि उहाँ विश्वासयोग्य रहिरहनुहुनेछ; किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्न।
[14] परमेश्वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू। परमेश्वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्; किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्नेहरूलाई नोक्सानी मात्र पुर्याउँछ।
[15] आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
[16] भक्तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्तिहीन हुँदै जानेछन्।
[17] तिनीहरूका शिक्षा कुहिँदैगएको घाउझैँ फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्,
[18] जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्वासलाई उल्टाइदिन्छन्।
[19] तैपनि परमेश्वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाम स्वीकार गर्ने हरेक जन दुष्टताबाट अलग हुनैपर्छ।”
[20] एउटा सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ।
[21] यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ।
[22] यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग।
[23] मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्न गराउँछन्।
[24] प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ।
[25] आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्;
[26] अनि तिनीहरूले चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएको छ।