Skip to content
Opens in a new window
Listen to this chapter • 2:53

[1] प्रभुका जनहरूका लागि भेटी सङ्कलनको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ।

[2] किनकि मदत गर्न तिमीहरूको उत्सुकता म जान्दछु। एक वर्ष अगिदेखि अखैयाको मण्डली दिनलाई तयार छ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै जना जोशिला भएका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु।

[3] तर यस विषयमा तिमीहरूमाथि हामीले गरेको गर्व खोक्रो नहोस्, तर तिमीहरू मैले भनेझैँ तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु।

[4] किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा मदत गर्न तिमीहरू तयार भएको भेटेनन् भने तिमीहरू मात्र होइन, तर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी पनि शर्ममा पर्नेछौँ।

[5] यसकारण यी भाइहरूलाई अगिबाट नै तिमीहरूकहाँ जान प्रोत्साहन दिन र तिमीहरूले उदारसाथ दिन्छु भनी प्रतिज्ञा गरेको दानको प्रबन्ध गर भन्‍न मलाई आवश्यक लाग्यो, ताकि त्योचाहिँ चित्त दुःखाउँदै नहोस्, तर उदारपूर्ण रूपमा दिएको दान होस्।

[6] यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, तर प्रशस्ततासाथ छर्नेले प्रशस्ततासाथ कटनी गर्नेछ।

[7] प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।

[8] परमेश्‍वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ।

[9] जसरी धर्मशास्त्रमा लेखिएको छ: “तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ।”

[10] अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ।

[11] हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्‍वरलाई चढाउन धन्यवाद उत्पन्‍न गराउनेछ।

[12] तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउने कुरा हुन्छ।

[13] तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्नेछन्; किनभने तिमीहरू ख्रीष्‍टको सुसमाचारप्रति आज्ञाकारी भयौ; अनि तिमीहरूले तिनीहरू र सबैप्रति आफ्नो उदारता देखायौ।

[14] परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असीम अनुग्रहको कारण तिनीहरूले गहिरो स्‍नेहसाथ तिमीहरूका लागि प्रार्थना गर्नेछन्।

[15] उहाँको वर्णन गर्न नसकिने वरदानका निम्ति परमेश्‍वरलाई धन्यवाद होस्!

2 कोरिन्थी — Chapters