Skip to content
Opens in a new window
Listen to this chapter • 3:03

[1] परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ।

[2] किनकि उहाँ भन्‍नुहुन्छ, “मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु; अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।” म तिमीलाई भन्दछु, परमेश्‍वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो।

[3] हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ।

[4] बरु परमेश्‍वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्‍टहरूमा,

[5] पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा,

[6] शुद्धतामा, समझमा, धीरजमा, दयामा, पवित्र आत्मामा, निष्कपट प्रेममा,

[7] सत्य वचनमा, परमेश्‍वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर;

[8] आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य;

[9] नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका,

[10] दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।

[11] हे कोरिन्थवासी हो, हामीले तिमीहरूलाई प्रष्‍टै भनिदिएका छौँ, र तिमीहरूलाई हाम्रो हृदय पूर्ण रूपले खोलिदिएका छौँ।

[12] हामीले आफ्नो स्‍नेह तिमीहरूदेखि रोकिराखेका छैनौँ, तर तिमीहरूले चाहिँ आफ्नो स्‍नेह हामीबाट रोकिराखेका छौ।

[13] म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्दछु; तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैँ हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ।

[14] ख्रीष्‍टमा विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्‍टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र?

[15] ख्रीष्‍ट र शैतानको के मेल हुन्छ र? विश्‍वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र?

[16] परमेश्‍वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौँ। जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “म तिनीहरूसँग बस्‍नेछु, र तिनीहरूसित हिँड्‍डुल गर्नेछु; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।”

[17] यसकारण, “तिनीहरूका बीचबाट निस्किआओ; अनि अलग होओ, प्रभु भन्‍नुहुन्छ। अशुद्ध थोक नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।”

[18] र “सर्वशक्तिमान् प्रभु भन्‍नुहुन्छ, म तिमीहरूका पिता हुनेछु; अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”

2 कोरिन्थी — Chapters