[1] यसकारण तिमीहरूलाई कष्ट नहोस् भनी दोस्रोपल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्चय गरेँ।
[2] किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ।
[3] अनि जसरी मैले अगिल्लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ।
[4] तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ।
[5] म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ।
[6] यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्ट छ।
[7] अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ।
[8] यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्का गर भनी म आग्रह गर्दछु।
[9] मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी छौ कि छैनौ भनेर थाहा पाउनका लागि हो।
[10] तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु;
[11] शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ।
[12] जब म ख्रीष्टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो।
[13] मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ।
[14] तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्टको विजयको यात्रामा डोर्याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्ना चारैतिर फैलाउनुहुन्छ।
[15] किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइरहेकाहरूका बीचमा हामी परमेश्वरका निम्ति ख्रीष्टको मिठो सुबास्ना हौँ।
[16] नष्ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र?
[17] किनकि हामी ती मानिसहरूजस्ता परमेश्वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्वरको सामु ख्रीष्टमा छलरहित कुरा बोल्दछौँ।