[1] यसकारण ख्रीष्टले आफ्नो शरीरमा दुःख भोग्नुभएको हुनाले तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ;
[2] अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ।
[3] किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ।
[4] तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्।
[5] तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ।
[6] किनभने शरीरमा चाहिँ अन्य मानिसहरूजस्तै तिनीहरूको न्याय गरियोस्, तर आत्मामा भने परमेश्वरका अनुसार तिनीहरू आत्मामा जिऊन् भनेर नै अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो।
[7] सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ।
[8] सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ।
[9] एक-अर्कालाई गनगनविना सत्कार गर।
[10] हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्वरका अनुग्रहको विभिन्न वरदान पाएका असल सेवकझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
[11] यदि कसैले बोल्छ भने परमेश्वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुहुने बलद्वारा सेवा गरोस्। यसरी सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरको प्रशंसा होस्। उहाँलाई सदासर्वदा महिमा र शक्ति होस्! आमेन।
[12] हे प्रिय मित्रहरू हो, तिमीहरूले अग्निपरीक्षा भोग्नुपर्दा तिमीहरूलाई कुनै अनौठो कुरा आइपरेझैँ अचम्म नमान;
[13] तर तिमीहरू ख्रीष्टको दुःखमा सहभागी हुन पाएकोमा आनन्द गर। यसरी उहाँको महिमा प्रकट हुँदा तिमीहरूको आनन्द प्रशस्त होस्।
[14] ख्रीष्टको नामको कारण अपमानित भएका छौ भने तिमीहरू धन्यका हौ; किनकि परमेश्वरको महिमाको आत्मा तिमीहरूमा बस्नुहुन्छ।
[15] तिमीहरूले कष्ट भोग्छौ भने ज्यानमारा, चोर वा अरू कुनै किसिमको अपराधी वा हस्तक्षेप गर्नेले झैँ नहोस्।
[16] तापनि तिमीहरूले ख्रीष्टियान भएको कारण कष्ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाम पाएकोमा परमेश्वरको प्रशंसा गर।
[17] किनकि परमेश्वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ, र यदि यो हामीबाटै सुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचार नमान्नेहरूको नतिजा कस्तो होला?
[18] पवित्र धर्मशास्त्रमा लेखिएको छ: “धर्मीहरूलाई बाँच्न कठिन छ भने, अधर्मी र पापीहरूको गति के होला?”
[19] यसर्थ परमेश्वरको इच्छाअनुसार कष्ट भोग्नेहरूले आफूलाई तिनीहरूका विश्वासयोग्य सृष्टिकर्ताकहाँ समर्पण गर्नुपर्छ, र असल गर्नमा जारी राखिरहनुपर्छ।